‘भ्युटावर’ व्यवस्थापन गर्न ककनी र बेलकोटगढी इच्छुक

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८०, बिहीबार १२:१३
  • रमेश शिलवाल

रानीपौवा, बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा एक–एकवटा ‘भ्युटावर’ (दृश्यावलोकन स्तम्भ) निर्माण गरेको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको निर्माण सम्पन्न भएको भ्युटावरको व्यवस्थापन गर्न पालिका इच्छुक रहेका छन् । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७९/८० सम्ममा नौवटा ‘भ्युटावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार सात सय ६८ रुपैयाँ खर्च भएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट (दुई पालिकामा), सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा भ्युटावर सम्पन्न भएका हुन् । ०७६ सालमा सम्झौता गरेर ०७९ सालसम्ममा सबै भ्युटावरको निर्माण सम्पन्न भएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अमृतकुमार श्रेष्ठले जानकारी दिए । काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा भने भ्युटावर निर्माण गरिएको छैन । नुवाकोटको ककनी गाउँपालिका–५ ककनीमा ‘हिल स्टेसन’ तीन करोड ३२ लाख ३२ हजार ६ सय ५९ रुपैयाँमा निर्माण सम्पन्न भएको छ । ०७७ सालमा सम्झौता भई ०७८ मा सम्पन्न भएका ‘हिल स्टेसन’ नुवाकोटको चिम्टेश्वरमा दुई करोड ७४ लाख ३८ हजार ७ सय ६८ रुपैयाँमा र धादिङको तोप्लाङमा दुई करोड १८ लाख ८९ हजार ६ सय ६९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका मन्त्रालयले जनाएको छ । यी ‘हिल स्टेसन’ ०७७ सालमा सम्झौता भई ०७९ मा सम्पन्न भएका हुन् । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाका अनुसार ‘भ्युटावर’सँगै शौचालय र सभाहल पनि निर्माण भएको छ । भौतिक संरचनाको प्रगति पूरै भए पनि लागत अनुमानको ८५ देखि ९० प्रतिशत खर्च भएको पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशनकुमार श्रीवास्तले बताए  ।

प्रदेश सरकारको लगानीमा बनेको ‘भ्युटावर’ हस्तान्तरण भने हुन बाँकी छ । बागमती प्रदेश सरकारको निर्माण भएका पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन एवम् समुचित उपयोगका लागि कार्यविधि निर्माण भइरहेको छ । यसका लागि तयार गरिएको पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि साउन ९ गते आर्थिक मामिला तथा योजना मन्त्रालय पठाइएको छ । मस्यौदामा निर्माण सम्पन्न भइसकेका ‘भ्युटावर’ स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ । स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका ‘भ्युटावर’ सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मा दिने गरी मस्यौदा तयार गरिएको पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख श्रीवास्तवले जानकारी दिए । कार्यविधिको मस्यौदामा पर्यटन पूर्वाधार वा सम्पदा परिसर प्रवेशमा लाग्ने प्रवेश शुल्कलगायतका शुल्क स्थानीय तहले तोकेबमोजिम हुने र निजी क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शुल्क निर्धारण गर्न सकिने उल्लेख छ । पूर्वाधारको सेवा शुल्कबाट प्राप्त रकमको कम्तीमा १० प्रतिशत पर्यटन पूर्वाधार वा सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ ।

प्रदेश सरकारले निर्माण गरेको ‘भ्युटावर’लगायतका यी पर्यटन पूर्वाधार सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तह इच्छुक देखिएका छन् । प्रदेश सरकारको लगानीमा ककनीको ककनी र बेलकोटगढीको चिम्टेश्वरमा निर्माण सम्पन्न भइसकेको भ्युटावरको व्यवस्थापन गर्न पालिकाले इच्छा व्यक्त गरेका छन् । ‘काठमाडौंनजिकै भएकाले आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने सम्भावना रहेको प्रदेश सरकारले बनाएको टावरको पूर्वाधार हामीलाई हस्तान्तरण गरेलगत्तै कार्यविधि बनाएर सञ्चालन र व्यवस्थापन गर्छौँ,’ बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर तामाङले भने । ककनी गाउँपालिकाका उपाध्यक्ष मिठुमाया लामाले वडा नम्बर– ५ मा प्रदेश सरकारले निर्माण गरिदिएको ‘हिल स्टेसन’ सञ्चालन र व्यवस्थापनका लागि गाउँपालिका तयार रहेको बताइन् । उनले भनिन्, ‘यो पर्यटकीयस्थल हो, आन्तरिक र विदेशी पर्यटक यहाँ भ्रमण गर्न आउनुहुन्छ । प्रदेश सरकारले हस्तान्तरण गरेपछि व्यवस्थित रूपमा सञ्चालन र व्यवस्थापन गर्छौँ ।’ हिल स्टेसन रहेको वडाध्यक्ष बुद्धराज लामाले पनि सञ्चालन र व्यवस्थापन गर्न इच्छा व्यक्त गरेका छन् । अहिले निर्माण सम्पन्न भएको उक्त हिल स्टेसनको व्यवस्थापनको जिम्मेवारी ठेकेदारको रहेकाले स्थानीयसँग समन्वय नगर्दा स्टेसन परिसरको बनिसकेको टायल, मार्बल, पर्खाल फुटेको र फोहोर थुप्रिएकोसमेत वडाध्यक्ष लामाले बताए । बेलकोट र ककनी भ्युटावर रहेको स्थान धार्मिक र पर्यटकीयस्थल भएकाले काठमाडौंबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।