धुन्चे, गोसाइँकुण्ड गाउँपालिकाले खरिद गरेको स्कुलबस कोमेन श्यामेवाङफेल मावि स्याफ्रुबेँसी रसुवालाई स्थानीयवासी र अभिभावकको रोहवरमा गत हप्ता हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा लामाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा मिङमार तामाङलाई बस हस्तान्तरण गरेका हुन् । बसलाई बुद्धिष्ट र हिन्दू धार्मिक परम्पराअनुसार पूजापाठ गरी पालिका अध्यक्ष तामाङ र उपाध्यक्ष लामासहित विद्यार्थी बजारदेखि विद्यालय, शिक्षक स्याफ्रुबेँसीदेखि विद्यालयसम्म चढेर उद्घाटन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख कृष्णबहादुर वि.क., बफरजोन तथा अध्यक्ष तथा होटेल व्यवस्था समिति अध्यक्ष छोवाङ तामाङ, चिलिमे जलविद्युत् कम्पनीका प्रतिनिधि, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रबन्धक क्षोक्याल दोर्जे लामा, पूर्ववडाध्यक्ष सिंगी ढिन्डुप तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिलगायत स्थानीय र विद्यार्थीको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष तामाङले सम्पूर्ण विद्यार्थी र शिक्षक, कर्मचारी तथा चालकलाई सही रूपमा संरक्षण गर्न र सदुपयोग गर्न आग्रह गरे । विगतमा हामीले जनतामाझ गरेको निःशुल्क शिक्षाअन्तर्गत यो निःशुल्क बस सञ्चालनमा ल्याएको उपाध्यक्ष लामाले बताइन् । हामी निर्वाचित भएको पहिलो वर्षमा निःशुल्क विद्यालय पोसाक, निःशुल्क कापी, किताब, निःशुल्क खाजालगायतका विविध कार्यक्रम ल्याएको र त्यो सफल भएकाले अब पूर्ण रूपमा निःशुल्क शिक्षाको व्यवस्था गर्नेसमेत उनले प्रतिबद्धता जनाइन् । बस सञ्चालनमा आएपछि विद्यालयमा अध्ययन गर्ने टाढाका विद्यार्थीलाई आवत–जावतमा सहज भएको छ ।