लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो

  • त्रिशूली प्रवाह
  • ३२ श्रावण २०८०, बिहीबार १२:२२

धुन्चे, रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ ।
आयोजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माण गरिएको निर्माण कम्पनी आरएम समूहका सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माण ०७८ जेठ १० गते कोभिड महामारीका बेला सुरु भएको थियो ।

३० महिनामा सक्ने लक्ष्यका साथ सुरु भएको यो आयोजनाको सुरुङ विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको काम भइरहेको तथा सामान आएलगत्तै जडान सुरु हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राटेकले गरिरहेको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको लागत दुई अर्ब ७३ करोड छ । जसमा सनराइज बैंकले एक अर्ब ५० करोड, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । एक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको सो समूहका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको यो आयोजना लाङटाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याफ्रु पुछारको दोभानमा बाँध बाँधी सुरुङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजना अर्धभूमिगतको संरचना बन्ने, ३.२ मिटर साइजको व्यास रहने, तीन किलोमिटर सुरुङको सहायताले स्याफ्रुबेँसीस्थित रसुवाको पुरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत् उत्पादन गरिने बताइएको छ । विद्युत्गृह भने बाहिरी सतहमा रहनेछ । लाङटाङ खोलामा ३० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको बाँध बाँधिने र सुरुङको सहायताले प्रतिसेकेन्ड १२ घनमिटर पानी विद्युत्गृहमा पुग्नेछ । विद्युत् उत्पादनका लागि दुईवटा पेल्टन टर्वाइन जडान हुने जानकारी आयोजनाले दिएको छ ।

रसुवामा थुप्रै जलविद्युत् आयोजना सञ्चालनमा आए पनि लाङटाङ निकुञ्जको संरक्षित क्षेत्रभित्रको भूभागमा यो पहिलो आयोजना हो । जिल्लामा हालसम्म अन्य ६ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४.३ माथिल्लो साञ्जेन, ४२.८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकोसी, ६ मेगावाट सुपर मैलुङ र दक्षिणी भेगमा १४ मेगावाट फलाँखुखोला रहेका छन् । रसुवाको जल सम्पदाको उपयोग गर्दै पहिलो चरणमा २२ मेगावाट क्षमताको चिलिमे, दोस्रोमा ६ मेगावाट मैलुङ र तेस्रोमा ६० मेगावाट क्षमताको अपर त्रिशूली थ्री ‘ए’ले उत्पादन दिइरहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए । विद्युत् विकासको सम्भावना छ भनी रसुवालाई विद्युत् जिल्लाको रूपमा परिचित गराउने पहिलो उत्पादक कम्पनी चिलिमे रहेकोसमेत अध्यक्ष तामाङले जानकारी दिए ।