जिप्रका नुवाकोट र धादिङ उत्कृष्ट

  • त्रिशूली प्रवाह
  • ३२ श्रावण २०८०, बिहीबार १२:५४

हेटौँडा, आर्थिक वर्ष ०७९/८० को बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी कार्यालयमध्ये कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ उत्कृष्ट भएका छन् भने काभ्रे सर्वोत्कृष्ट भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत बुधबार आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे बागमती प्रदेशकै कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको घोषण गरिएको थियो । कार्यक्रममा गत आ.व.को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने जिल्ला प्रहरी कार्यालय काभ्रेलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मानसमेत गरिएको थियो । सो कार्यक्रममा बागमती प्रदेशका जि.प्र.का. नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो । चालू आ.व.का लागि बागमती प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय १०, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी गण हेटौँडा गरी जम्मा १४ वटा कार्यालयका प्रमुखसँग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गरेका थिए । जसअन्तर्गत जिल्ला प्रहरी कार्यालयका लागि ३७ वटा, ट्राफिकका लागि २१ र अन्य कार्यालयका लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलाप प्रदान गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले गत आ.व. ०७९/८० को कार्यसम्पादन सम्झौता समीक्षा तथा चालू आ.व. ०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौताबारे प्रकाश पारेका थिए । कार्यक्रममा मातहतका प्रहरी प्रमुखले गत आ.व.को प्रगतिको तुलनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेशअन्तर्गतका प्रहरी प्रमुखसँग आर्थिक वर्ष ०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रमसमेत गरेकी थिइन् । कार्यक्रममा राणाले अबको आर्थिक वर्षमा बुधबार गरिएको यस वर्षको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्नसमेत निर्देशन दिएकी थिइन् । आफूमातहतको जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आसन्न चाडपर्वलक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्न र जिल्लामा शान्ति सुरक्षाका लागि अडिग भएर लाग्नसमेत उनले आवश्यक निर्देशन दिएकी छिन् ।