+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा सिडिओको स्वागतमा परिचय कार्यक्रम

नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा सिडिओको स्वागतमा परिचय कार्यक्रम
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोटमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को स्वागत गर्दै नुवाकोट उद्योग वाणिज्य सङ्घले बुधबार परिचय कार्यक्रम गरेको छ । गृह मन्त्रालयले नुवाकोटसहित चार जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को गत हप्ता सरुवा गरेको थियो । मन्त्रालयले गत मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

मन्त्रालयले चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओमा र नुवाकोटका सिडिओ किरण थापालाई साढे ६ महिनामै सरुवा गरी सप्तरीको सिडिओ बनाएको छ । मंगलबार नुवाकोटको सिडिओ पदबहाली भएका पौड्यालको सम्मानमा बुधबार संघले स्वागत तथा परिचय कार्यक्रम राखेको थियो । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गर्दै विगतदेखिको प्रशासनसँगको सम्बन्ध सुमधुर हुने अपेक्षा गरे । स्वागत कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले नुवाकोटमा उद्योग-व्यवसायको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गर्दै अवैध व्यवसाय गर्नेलाई निरुत्साहित गर्ने सङ्घको अभियानलाई प्रमुख जिल्ला अधिकारीको साथ र सहयोग मागे । सो कार्यक्रममा संविधानसभा सदस्य एवम् सूर्यज्योति एकेडेमीकी सञ्चालक राज्यलक्ष्मी श्रेष्ठ पाँडे, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षद्वय धननारायण चित्रकार र शरण उत्सुक सापकोटा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सभापति एवम् सञ्चार उद्यमी शिव देवकोटा, नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारी, पासाङल्हामु यातायात व्यवसायीका प्रतिनिधि कुलबहादुर खड्गीलगायतले जिल्लाको व्यवसायको अवस्था र व्यवसायीले भोगिहेको समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा स्वागत ग्रहण लिँदै प्रमुख जिल्ला अधिकारी पौड्यालले व्यवसायीले भोगेका समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

नुवाकोट ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदाले भरिपूर्ण जिल्ला र काठमाडौंको नजिक हुँदा पनि आन्तरिक पर्यटन प्रवद्र्धन हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । राजनीतिक रूपमा सचेत जिल्ला नुवाकोट सरुवा भएर आउन पाएकोमा गर्व महसुस गरेको बताउँदै नुवाकोटको आर्थिक समृद्धि र सुशासन कायम गराउन अहोरात्र खट्नेसमेत बताए । सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले जिल्लामा सरुवा भई आउने प्रशासकको स्वागत र बिदाइ गर्ने विगतदेखिको परम्परालाई निरन्तरता दिइरहेको सो कार्यक्रममा बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह