काङ्ग्रेसको वडा, पालिका, प्रदेश क्षेत्र र क्षेत्रीय सम्मेलन भदौभित्र

  • त्रिशूली प्रवाह
  • ७ भाद्र २०८०, बिहीबार ११:३९

विदुर, नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यक्रमअनुसार गत साउन २० देखि ३० गतेसम्म नुवाकोट जिल्ला कार्यसमितिले पहिलो चरणको साङ्गठनिक सुदृढीकरण अभियान सम्पन्न गरेको छ । काङ्ग्रेसले सञ्चालन गरेको १० दिने आन्तरिक विशेष अभियानले साङ्गठानिक संरचना सुदृढीकरण र पार्टीको नीति तथा कार्यक्रमलाई तल्लो तहसम्मलाई प्रस्ट पार्न सफल भएको जिल्ला कार्यसमितिले दाबी गरेको छ । केन्द्रीय प्रतिनिधि गुरुप्रसाद बरालसहित प्रदेश प्रतिनिधि तिलक रुवाली र इन्द्रमान महर्जनसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसेर १२ पालिकामा कार्यक्रम तालिकासहित प्रतिनिधि खटाएको थियो । बैठकले खटाएको प्रतिनिधिले पहिलो चरणमा पालिकामा पुगेर पूर्ण रूपमा पार्टीको आन्तरिक संरचनाका लागि केन्द्रित भएर भेला–बैठक गरेका थिए ।

काङ्ग्रेसले पार्टी सङ्गठनलाई चलायमान बनाउन पहिलो चरणको कार्यक्रम सम्पन्न भएसँगै दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेसम्म समुदायमा पुग्ने घोषणा गरेको थियो । उक्त दोस्रो चरणको अभियान नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयले वर्षात्ले गर्दा स्थगित गरेको छ । स्थगित भएको जानकारी मंगलबार केन्द्रले सबै जिल्लालाई पठाएको छ । पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला कार्यसमितिले दोस्रो चरणका लागि ८८ वटै वडामा पुग्ने कार्यक्रम तय गरेको जिल्ला सचिव वैकुण्ठ मिश्रले जानकारी दिए । जिल्लाका सबै वडा, पालिका, प्रदेश क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रीय तहको सम्मेलन आगामी भदौ मसान्तभित्र गर्ने निर्णय जिल्ला कार्यसमितिको बैठकले गरेको छ । केन्द्रले दोस्रो चरणको अभियान स्थगित गरे पनि वडा, पालिका, प्रदेश क्षेत्र र क्षेत्रीय सम्मेलनका कार्यक्रम भने जारी रहने सचिव मिश्रले बताए । दोस्रो चरणलाई काङ्ग्रेसले समुदायमा आधारित राष्ट्रव्यापी अभियान नाम दिएको थियो । यो चरणमा खटिएका प्रतिनिधि समुदायमा जाने, नागरिकसँग प्रत्यक्ष कुरा गर्ने र उनीहरूको कुरा सुन्ने कार्यक्रम रहेको छ । पार्टीको आन्तरिक जीवनमा आमूल परिवर्तनका एजेण्डा बनाउने, कार्यान्वयन गराउने र जिल्लाका राजनीतिक तथा समसामयिक विषयमा काङ्ग्रेसले कस्तो उपस्थिति जनाउने भन्नेबारे जिल्लामा भेला भएका केन्द्रदेखि एकाइसम्मका नेताबीच छलफल गराउने काङ्ग्रेसको सर्कुलरमा उल्लेख छ ।

नुवाकोट काङ्ग्रेस जिल्ला कार्यसमितिको २०औँ बैठकले ती सम्मेलन गर्न प्रतिनिधि खटाउने र पार्टीको सदस्यतालाई बृहत् रूपमा वितरण गर्न अनलाइनबाट सदस्यता वितरण भर्ने अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । काङ्ग्रेसको नुवाकोट जिल्ला कार्यसमितिका सचिवद्वय वैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा नुवाकोट जिल्लाका स्वदेश तथा विदेशमा रहेका पार्टी समर्थक लोकतन्त्रवादीलाई अनलाइन सदस्यता भर्नका लागि आह्वान गरिएको जनाइएको छ । बैठकले जिल्ला पार्टीले महाधिवेशन, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र स्थानीय तहको जनप्रतिनिधिसँग बैठक र छलफल गर्ने निर्णय गरेको छ । विज्ञप्तिमा पार्टीको विधानबमोजिम नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन गर्ने, पार्टीको केन्द्रीय कार्यसमितिको परिपत्र र निर्देशअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण पार्टीको विधान र नियमावलीअनुसार गर्ने र विधानअनुसार बुझाउनुपर्ने लेबी जिम्मेवार सदस्यले बुझाउने सम्बन्धमा व्यवस्थित गर्न पत्राचार गर्ने निर्णय भएको जनाइएको छ । त्यस्तै, पार्टी छाडेका स्वतन्त्र उम्मेदवार रहेका र स्वतन्त्र उम्मेदवारका समर्थक र प्रस्तावक–समर्थक रहेकाको विवरण वडा तहबाट पालिका, प्रदेश र क्षेत्रमार्फत जिल्ला कार्यसमितिमा माग गर्ने निर्णय भएको जनाइएको छ । दोस्रो चरणको अभियानका लागि काङ्ग्रेस केन्द्रले जिल्लाभरिका लागि गुरुप्रसाद बराल, प्रदेशबाट जिल्लाभरिका लागि तिलक रुवालीलाई तोकेको छ । दोस्रो चरणको अभियानका लागि जिल्लाको चारवटा प्रदेशमा चारजना प्रतिनिधि प्रदेशबाट खटाइसकेको छ । प्रदेशबाट खटाइएका प्रतिनिधिमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा राजीव पोखरेल, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा भगवती खड्का, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा अञ्जलीदेवीसिंह चौधरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा इन्द्रमान महर्जन रहेका छन् ।

काङ्ग्रेसको २८ वटा भ्रातृ संस्था र शुभेच्छुक संस्था रहेका छन् । ती संस्थाको गठन भए पनि नियमित विधानअनुसार अधिवेशन हुन सकेको छैन । जिल्लामा भने प्रायः सबै शुभेच्छुक संस्थाको विधानअनुसार नियमित वार्षिक साधारणसभा र अधिवेशन भइरहेको सचिव मिश्रले जानकारी दिए । काङ्ग्रेसको भ्रातृ संस्थामध्ये नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घको विधानअनुसार गठन भए पनि १० वर्षदेखि अधिवेशन हुन नसक्दा सङ्गठन चलायमान हुन सकेको छैन । ती संस्थाका सभापति केन्द्रीय सभापतिले आफूअनुकूल विधानविपरीत तोक्ने गरेका छन् । जिल्लामा पनि नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घको अधिवेशन नभएको १० वर्ष भइसकेको छ । यो वर्ष नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घको जिल्ला अधिवेशन गर्ने गरी तयारी भइरहेको सचिव मिश्रले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । काङ्ग्रेसले हालै सम्पन्न गरेको आन्तरिक विशेष अभियानले साङ्गठानिक संरचना सुदृढीकरण र पार्टीको नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म नै प्रस्ट पारेको महासमिति सदस्य डा. केदारनरसिंह केसीले बताए । अभियानमार्फत पार्टीले गरेको उल्लेखनीय काम जनस्तरमै बुझाउन सफल भएकोसमेत उनले दाबी गरे । अभियानले गाउँगाउँमा विपक्षीले फैलाएको राजनीतिक एवम् अन्य भ्रम निवारण गरी काङ्ग्रेसले लिएको नीति र रणनीतिका कारण मुलुकको तीनै तहमा काङ्ग्रेसले पहिलो स्थान कायम गर्न सफल भएको नेपाली काङ्ग्रेस नुवाकोटका सभापति एवम् बागमती प्रदेश सभा सदस्य रमेश महतले बताए ।