डिहीबजार, नुवाकोटको विदुर नगरपालिका र म्यागङ गाउँपालिका कार्यक्षेत्र रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले कारोबार सुरुवात गरेको १६ वर्ष पूरा भएको छ । सहकारीले कारोबार सुरु गरेको ०६४ भदौ २ गतेलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि शनिबार सहकारीले केक काटेर स्थापना दिवस मनाएर सहकारीको गतिविधि सार्वजनिक गरेको छ ।
सहकारीमा स्थापनादेखि अध्यक्ष रहेका बाबुराम अधिकारीले केक काटेर स्थापना दिवस कार्यक्रमको शुभारम्भ गरेका थिए । सञ्चालक समिति र सेयर सदस्य उपस्थित सो कार्यक्रममा सहकारीले १६ वर्षको आर्थिक, भौतिक उपलब्धिको जानकारी गराएको थियो । सहकारीले सेयर सदस्यलाई गर्भदेखि स्वर्गारोहणसम्म सहयोग गर्दै आइरहेको उपाध्यक्ष केदार रिजालले जानकारी दिए । सहकारीले जन्म, जन्मदिन, सुत्केरी भेटघाट, ज्येष्ठ सदस्य सम्मान, औषधिपचारमा सहयोग, पिछडिएका तथा विपन्न विद्यार्थीलाई छात्रवृत्तिसहित सेयर सदस्यलाई मृत्युमा समेत सहयोग गर्ने अवधारणा रहेको उनले बताए । सेयर सदस्यभित्र सहकारीले आर्थिक कारोबार, रासायनिक मल, विद्युतीय तथा घर भान्सामा प्रयोग हुने विविध उपकरण सामग्री सुपथ तथा किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको छ ।
०६४ सालमा २५ जना सदस्यबाट स्थापना भएको सहकारीमा अहिले इक हजार चार सय ३७ सेयर सदस्य रहेका छन् । त्यसैगरी, सेयर पुँजी तीन करोड आठ लाख १० हजार दुई सय रुपैयाँ अहिले रहेको छ । सहकारीमा १० जना कर्मचारी कार्यरत रहेका छन् भने दुई सय २४ सेयर सदस्यलाई विभिन्न शीर्षकमा ६ करोड ८७ लाख तीन हजार नौ सय ७४ लगानी गरेको छ । भाडाको घरबाट सेवा सञ्चालन गरेको सहकारीले ०७७ पुसमा नौ आना तीन पैसा जग्गा खरिद गरेर सुविधासम्पन्न भूमिगत तलासमेत गरी पाँच तलाको व्यावसायिक भवन निर्माण गरेर गत वर्षदेखि आफ्नै भवनबाट कारोबार सञ्चालन गरिरहेको छ । सहकारीको ६ करोड ४१ लाख १७ हजार एक सय ८५ बचत निक्षेप रहेको व्यवस्थापक राजु अधिकारीले जानकारी दिए । सहकारीले आफ्नो आर्थिक कारोबारलाई आधुनिक प्रविधियुक्त बनाएको छ ।
सहकारीका सेयर सदस्यले मोबाइल बैंकिङ सेवामा एसएमएस, मोबाइल रिचार्ज, खानेपानी, विद्युत् इन्टरनेट सेवाको बिल भुक्तानीसहित बिमा, ऋणको किस्ता, भुक्तानी र नेपाल अधिराज्यका बैंक तथा वित्तीय संस्थामा रकम पठाउन र भुक्तानी गर्नेजस्ता सुविधासहित स्मार्ट मोबाइल बैंकिङमार्फत नयाँ–नयाँ युगसुहाउँदो सेवा दिँदै आएको व्यवस्थापक राजु अधिकारीले जानकारी दिए । यसै चालू आ.व.मा बजार प्रतिनिधिद्वारा गरिने बचत सङ्कलनलाई डिजिटल सिस्टम ट्याब्लेट बैंकिङ सेवा विस्तार गर्ने योजना रहेकोसमेत उनले बताए । सहकारीले प्रविधिमैत्री सेवा सञ्चालन गरी सफ्टवेयरमार्फत सम्पूर्ण अनलाइन बैंकिङ सेवा दिइरहेको छ ।






प्रतिक्रिया