विदुरमा ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सुरु

  • त्रिशूली प्रवाह
  • ७ भाद्र २०८०, बिहीबार १२:२२

त्रिशूली, नुवाकोटको विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सञ्चालन गरेको छ । आइतबार नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका–७ तुप्चे सोलेबाट कार्यक्रमको सुरुवात गरेका हुन् ।

मेयर श्रेष्ठले सोलेको सूर्य दाइको किराना पसलका सञ्चालक कल्पना मोक्तानलाई व्यवसाय दर्ताको प्रमाणपत्र वितरण गरेर ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । नगरपालिकाले बजार अनुगमन, व्यवसाय सूचीकृत र व्यवसाय दर्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार आइतबारबाट उक्त कार्यक्रम कार्यान्वयनमा आएको छ । नगरको १३ वटै वडाको सबै व्यवसायीको कार्यस्थलमै पुगेर व्यवसाय दर्ता, नवीकरण गरिने बताइएको छ । नगरभित्रका अधिकांश व्यवसायी विविध कारणले दर्ता प्रक्रियामा नआउँदा नगरपालिकाले अपेक्षित राजस्व उठाउन नसकेकाले नीति तथा कार्यक्रममै समेटेर अभियानकै रूपमा यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता एवम् विदुर नगरपालिका–७ का अध्यक्ष रवीन्द्र नेपालले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रमको प्रभावकारी कार्यान्वयनपछि सबै व्यवसायी सूचीकृत भई मर्यादित व्यवसायको वातावरणसमेत निर्माण हुने र कर प्रणालीमा सहभागिताका कारण नगरपालिकाको कार्य सञ्चालनमा समेत सहजता हुने उनले बताए ।

नगरपालिकाको यो कदमलाई स्थानीय तथा व्यवसायीले राम्रो सुरुवात भएको भन्दै सबै सरोकारवालाले दर्ता र नवीकरणमा छुट गर्नुपर्ने माग राखेका छन् । करमा दायरा बढाउँदै व्यावसायिक करको दर घटाउन व्यवसायीका प्रतिनिधिमूलक सङ्घ–संस्थाले विगतदेखि नै नगरपालिकालाई सल्लाह र सुझाव दिँदै आएका छन् । आर्थिक मन्दीले थिलथिलिएका नगरका व्यवसायी करको दर हेरफेर गर्न नगरपालिकाका जनप्रतिनिधिसँग अनुरोध गर्दै आएका छन् । आर्थिक मन्दीले गर्दा व्यापार, व्यवसाय शिथिल भएकाले नगरपालिकाको प्रमुख बजार क्षेत्रमा घर र सटर खाली हुन थालेका छन् । व्यवसायीले लिएका घर र सटरको भाडासमेत अहिले घरधनीले ५० प्रतिशतसम्म घटाइरहेका छन् ।