लेनिनका ‘विचार’ र ‘वाद’सँग सहमत/असहमत हुनु छुट्टै कुरो, तर विरोधको नाममा इतिहास निमिट्यान्न पार्न खोज्नु असहिष्णुता हो, जुन आफूलाई प्रजातन्त्रको हिमायती भन्न रुचाउनेलाई अशोभनीय छ । लेखक माक्र्स र लेनिनका रचनालाई मानव इतिहासका अमूल्य सिर्जना मान्नुहुन्छ । सोभियत विघटनका कारण अनेक कोणबाट केलाउन सकिन्छ ।
भक्तपुर पुस्तक मेलामा जम्काभेट भएका इन्जिनियर रामबिन्दु श्रेष्ठसँग केही घतलाग्दा सोभियत अनुभव सुनेपछि मैले उहाँले लेख्नुभएको पुस्तक ‘मेरा सोभियत सम्झनाहरू’ किन्ने निधो गरेँ । साँच्चै पुस्तक पढ्दा यसरी डुबिएछ कि लिएको भोलिपल्ट बिहानसम्म विकट बाग्लुङबाट दिल्ली हुँदै सोभियत सङ्घका फाँट, समुद्र, शैक्षिक संस्थान, छात्रावास, आरामगृह र युरोपका केही देशको एक फेरो मारिसकेको थिएँ । सोभियत समाज, संस्कृति र सोचको एक झलक पाइसकेको थिएँ । एउटा ‘आहा क्षण’ सकिएको छ र लेख्न बसेको छु यो अनुभूति ।
कहाँबाट लेखु भइरहेको छ – सुरुबाटै सुरु गरौँ । सोभियत सम्झनाका पोका लेखकले ‘समर्पण’बाट सुरु गर्नुभएको छ । आमाबुबापछि उहाँले संस्मरणलाई सोभियत जनताप्रति समर्पित गर्नुभएको छ । यो समर्पणले पुस्तकको भाव बोल्छ । लेखिएको छ, ‘ती सोभियत जनतामा जसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका विकासोन्मुख मुलुकका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर खडा गरे ।’ ०४२ सालमा उच्च अङ्कसहित प्रमाणपत्र तह उत्तीर्णपछि उच्च शिक्षा अध्ययनका निम्ति उहाँ सोभियत सङ्घ जानुभयो । सोभियत सङ्घमा एक वर्ष उहाँले एरेभान विश्वविद्यालयमा रुसी भाषाको अध्ययन गर्नुभयो । त्यसपछि खार्कोभमा पाँच वर्ष स्नातकोत्तर सकेर नेपाल फर्किनुभयो । यसबीच उहाँले देखे–भोगेको जीवन नै ‘मेरा सोभियत सम्झनाहरू’को विषय हो । उहाँ सोभियतलाई खासगरी रुसी कखरा सिकेको एरेभानलाई दोस्रो मातृभूमि भन्नुहुन्छ । एरेभानमा उहाँलाई एक बुढी गुरुआमा आर्पिक आभेतोभ्ना खच्यातु¥यानले पढाउनुभयो । त्यहाँ शिक्षकले विद्यार्थीलाई आमाबुबाले जस्तै रेखदेख गर्ने चलन थियो । चाडबाडमा घरमा बोलाउँथे, नजानेको कुरा बुझाउन सदा हाजिर हुन्थे । भाषा सिकाउने काइदा सानदार थियो । सबैथोक रुसी भाषामै सिकाइन्थ्यो, उल्था हुन्नथ्यो । यो प्रभावकारी विधिकै कारण आफूहरू महिना दिनमै रुसी भाषा बोल्न, लेख्न र किनमेल गर्न जान सक्ने भएको लेख्नुभएको छ । आर्पिककोे पेन्सन पाकिसकेकाले घर बस्न सक्नुहुन्थ्यो, तर सक्रिय जीवन बिताउन पढाउने पेसा छोड्नुभएको थिएन । सोभियत समाजका सर्जक लेनिन गोली लागिसकेर पनि केही वर्ष बाँच्न सक्नुको कारण सक्रिय जीवन हो भनी शिक्षिका आभेतोभ्ना बारम्बार सम्झाउनुहुन्थ्यो ।
सोभियत सङ्घमा विदेशी विद्यार्थीको अध्ययन घतलाग्दो हुन्थ्यो । तेस्रो विश्वका विद्यार्थी एउटै कक्षा र छात्रावासमा भेट हुन्थे । अश्वेतले जीवनमा सम्मान पाएको महसुस गर्थे । उनीहरू आफ्नो देशको कला, भाषा र संस्कृतिका वारिस थिए । त्यहाँ तिनले एक–अर्काको संस्कृतिलाई आदर गर्न सिके । त्यस्तो एउटा नयाँ विश्व संस्कृति र नयाँ सोभियत मान्छे निर्माण गर्ने उद्देश्यले स्थापित ‘सोभियतहरूको देश’ विघटन हुँदा भावविह्वल भएको उहाँको मनसँगै पाठकको मन पनि खिन्न हुन्छ । लेखक राम बिन्दुले सोभियत शिक्षा प्रणालीबारे धेरै कुरा लेख्नुभएको छ । जस्तो सोभियत शिक्षा पद्धतिमा विद्यार्थीलाई विषयगत ज्ञानको अतिरिक्त विश्व दृष्टिकोण निर्माणमा जोड दिइन्थ्यो । पाँच वर्षमा विद्यार्थीलाई सोभियत सङ्घको इतिहास, माक्र्सवादी दर्शन, अर्थशास्त्र र समाजबारे पढाइन्थ्यो । इन्जिनियरिङको विद्यार्थीलाई के–को दर्शन पढाएको होला भनेर सुरुमा लेखकलाई झर्को लागेको थियो । पछिपछि उहाँले दर्शनको ज्ञानको महत्व बुझ्दै जानुभयो । जीवन र जगत्लाई बुझ्न र समाजलाई नेतृत्व दिन दर्शनको आवश्यकता हुने उहाँ लेख्नुहुन्छ । आजभोलि नेपालमै पनि विज्ञान र प्रविधिका विषयमा दर्शनको कुरा कहीँ–कतै पढाइन्न । यसले सोच्ने र विश्लेषण गर्ने मान्छे होइन, कारिन्दा वा कर्मचारी मात्र निर्माण गर्छ । यसै सन्दर्भमा अध्ययनको प्रथम वर्षमा इतिहासको कक्षामा शिक्षिकाले सोभियत कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन अस्वीकार गरी निस्किने नेता को थियो भनी सोध्दा लेखकले माओ भन्नुभएछ । त्यो सुनेर कति विद्यार्थी लेखकनिकट हुन पुगेछन् । पुस्तकका यस्ता प्रसङ्ग घतलाग्दा छन् ।
सोभियत शिक्षक समर्पित र कर्तव्यपरायण थिए । त्यहाँ ठूलाले सानालाई पहिला अभिवादन गर्ने चलन थियो । परीक्षाको बेला प्रत्येक विद्यार्थीले अलग–अलग प्रश्नपत्र पाउँथ्यो । विद्यार्थीले उत्तरकापी देखाउँदा शिक्षकले थप प्रश्न सोध्न पनि सक्थे । त्यसैले रटानलाई भन्दा बुझाइलाई बढी ध्यान दिइन्थ्यो । विद्यार्थीको मूल्याङ्कन ठाउँको ठाउँ तत्कालै हुन्थ्यो, हाम्रोमा जस्तो महिनौँ कुर्न पर्दैनथ्यो । त्यसैले सायद लेखक राम बिन्दुजस्ता विद्यार्थीले उच्च आदर्शका साथ अध्ययन गरे । सोभियतले दोस्रो विश्वयुद्धमा धेरै रगत बगाएको थियो । यसलाई लेखकले सोभियत नेता स्टालिनको भाषण उद्धृत् गर्दै यसरी चित्रण गर्नुभएको छ, ‘यो सङ्ग्राममा सोभियत जनताले आफ्नो निःस्वार्थ सङ्घर्षबाट युरोपको सभ्यतालाई फासीवादी विध्वंशबाट बचाएका थिए । यो मानव जातिको इतिहासमा सोभियत जनताको ठूलो देन हो ।’ यही उत्सर्गको स्मरणमा सोभियत समाजमा देशभक्तिपूर्ण युद्धका भेटरानलाई उच्चतम सम्मान गरिँदो रहेछ । त्यसैले त्यहाँ मनाइने चाडमध्ये मे ९ को विजय दिवसलाई सबैभन्दा ठूलो मानिन्थ्यो । त्यो दिन सोभियत सङ्घले आफ्ना अढाई करोड वीरको सहादतबाट नाजी फासीवादीमाथि विजय प्राप्त गरेको दिन थियो । सोभियतको भूराजनीतिक परिवेशकै कारण त्यहाँ प्रत्येक युवाले दुई वर्ष अनिवार्य सैन्य तालिम लिनुपर्ने बन्दोबस्त थियो । लेखकलाई पढाउने एक शिक्षक आफैँ पनि युद्धका भेटरान हुनुहुन्थ्यो । नारीप्रतिको सम्मान सोभियतको अर्को विशेषता थियो । जीवनका सबै क्षेत्रमा तिनीहरू अगाडि थिए । भाषा सिकाउने शिक्षिका प्रायः महिला थिए । नेपालमा महिला साक्षरता १.८ प्रतिशत छँदा सोभियतकी भ्यालेन्तिना तेरेस्कोभा २६ वर्षको कलिलो उमेरमै अन्तरिक्षमा पुगेकी थिइन् । सहरका प्रायः ट्रामका चालक महिला नै हुन्थे । सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिक पस्नेबित्तिकै सिट छोड्ने चलन थियो । यसलाई लेखक सोभियत सभ्यताको चिनारी भन्नुहुन्छ । लेखकले सोभियतको खानाको गुणस्तर र मालसामानको दिगोपनको पनि चर्चा गर्नुभएको छ । जस्तैः युक्रेनबाट ल्याएको एउटा ओभन ३५ वर्षभन्दा बढी चलेको, खाना स्वादमा सादा भए पनि पोषक र पच्य भएको । तर, २९ वर्षपछि फेरि रुस जाँदाको बजार अर्थतन्त्रमा त्यसको गुणस्तर उहिलेको जस्तो नपाउनुको प्रसङ्गले पहिला मुनाफाभन्दा मानिसको स्वास्थ्यका लागि भोजन र सामान तयार गरिन्थ्यो भन्ने खुल्छ ।
सोभियतमा अध्ययनका क्रममा लेखक रामले युरोपको भ्रमण गर्ने मौका पनि पाउनुभयो । युरोप महङ्गो थियो । उहाँले फ्रान्कफर्टमा भुइँमा रुमाल ओछ्याएर सुत्नुप¥यो । सोभियतमा तातोपानीका पाइपबाट कोठा न्यानो पारिन्थ्यो, जाडोमा कसैले रात कटाउनुपर्दैनथ्यो, त्यो निःशुल्क थियो । सादा सोभियत संसारमा बानी परेको लेखकलाई युरोप झिलिमिली लाग्थ्यो । जताततै विज्ञापन, घरैपिच्छे पसल र साथमा लोभलाग्दो व्यापारिक कला पनि थियो । सोभियतमा यसको अभाव थियो, त्यहाँ यति धेरै पसल हुन्नथ्यो र सामान किन्दा लाइन बस्नुपथ्र्यो । ‘मेरा सोभियत सम्झना’मा कुनै पनि नछुटाई भनुँभनुँ लाग्ने धेरै प्रसङ्ग र घटना छन् । चिन्तनका अनेक झिल्का छन् । सभ्यताका अनेक पाठ छन् । एउटा सानो अनुभूति–लेखमा ती सबै उल्लेख गर्न मिल्दैन । यति भनौँ सोभियत सङ्घ धेरै सभ्य र उच्च समाज थियो । सोभियत दर्शनले ‘भाइचारावादयुक्त समाज’ निर्माण गर्न चाहन्थ्यो । तर, पार्टीमा घुसेको घुनकिरा तप्काले त्यो सोच पूरा हुन दिएनन् । प्रजातन्त्रोत्तर रुस र पूर्वसोभियत गणराज्यमा छाएको ऐतिहासिक सालिक ढाल्ने, सहर गल्लीको नाम फेर्ने र इतिहास तोडमरोड गर्ने मास हिस्टेरियालाई लेखकले बानरको संज्ञा दिनुभएको छ । उहाँ भन्नुहुन्छ, लेनिनका ‘विचार’ र ‘वाद’सँग सहमत÷असहमत हुनु छुट्टै कुरो, तर विरोधको नाममा इतिहास निमिट्यान्न पार्न खोज्नु असहिष्णुता हो, जुन आफूलाई प्रजातन्त्रको हिमायती भन्न रुचाउनेलाई अशोभनीय छ । लेखक माक्र्स र लेनिनका रचनालाई मानव इतिहासका अमूल्य सिर्जना मान्नुहुन्छ । सोभियत विघटनका कारण अनेक कोणबाट केलाउन सकिन्छ । लेखकले पनि यसबारे धेरै चर्चा गर्नुभएको छ । तर, लेखकको एउटा कन्फेसनले मन छुन्छ । उहाँले सोभियत जनताको मन भाँड्न हामी विदेशी विद्यार्थीको पनि थोरबहुत हात रहेको उल्लेख गर्नुभएको छ । विदेशी विद्यार्थी छुट्टीको बेला युरोप भ्रमण जान्थे र आउने बेला थरीथरीका झिलिमिली सामान ल्याउँथे । सोभियत नागरिकलाई ती सामानले मोहनी लगायो र विदेशी चिजबिजलाई राम्रो ठान्न थाले । आधारभूत रूपमा उनीहरू सभ्यताको निकै उच्च स्थानमा पुगिसकेका, तर नेतृत्वदायी राजनीतिक पार्टीको संयन्त्रमा लागेको खिया र अन्तरपार्टी प्रजातन्त्रको अभावले मुलुक र समाजलाई समयानुकूल गतिमान बनाउन सकेनन् ।
विश्वमा आएको अनेकन परिवर्तनका हुरीबीच इतिहासमा सोभियतको गौरवशाली स्थानलाई बिटुल्याउन दिनुहुँदैन भन्ने लेखक राम बिन्दुको दृढ अडान छ । त्यसैले कोरोनाको महाकालको बेला उहाँले आफ्ना डायरी छिचोल्दै यो पुस्तक लेख्नुभयो । विभिन्न घटनाका तिथिमिति मात्र होइन, समय पनि दिइएकोले यो पुस्तक ससानो इतिहास बन्न पुगेको छ । त्यसमाथि लेखकले सोभियतको साहित्य, सांस्कृतिक वैभव र भव्यताबारे ठाउँ–ठाउँमा धेरै रोचक जानकारी पनि समेट्नुभएको छ ।
(समीक्षा गरिएको पुस्तक उत्सुक बुक्स केन्द्र, विदुर, नुवाकोटमा उपलब्ध छ ।)







प्रतिक्रिया