विसं २०८३ जेठ ३ गतेदेखि (ग्रेगोरियन १७ मे २०२६) अधिकमास अर्थात् मलमास वा पुरुषोत्तम मास सुरु भएको छ । हिन्दु पञ्चाङ्गअनुसार यो अतिरिक्त चन्द्रमास हो जसले सौर र चान्द्र वर्षबिचको अन्तरलाई पूर्ति गर्छ । यो अवधि धार्मिक रूपमा अत्यन्त पवित्र मानिन्छ, तर शुभकार्यका लागि भने त्याज्य हुँदैन । यस लेखमा पङ्क्तिकारले अधिकमासको वैज्ञानिक आधार, परम्परागत कारण, धार्मिक महत्त्व, गरिनुपर्ने र नगर्नुपर्ने कामबारे विस्तृत चर्चा गर्ने प्रयास गरिएको छ ।
परिभाषा
हिन्दु क्यालेन्डर दुईप्रकारको छ – सौर (सूर्यको गतिमा आधारित) र चान्द्र (चन्द्रमाको गतिमा आधारित) । एउटा चन्द्रमास औँसीदेखि अर्को औँसीसम्म औसत २९.५ दिनको हुन्छ, जसले १२ चन्द्रमासमा वर्ष करिब तीन सय ५४ दिन बनाउँछ । तर, सौर वर्ष तीन सय ६५ दिन ६ घण्टाजतिको हुन्छ । यसले हरेक वर्ष करिब ११ दिनको अन्तर सिर्जना गर्छ । तीन वर्षमा यो अन्तर एक महिनाजतिको (३३ दिन) पुग्छ । जब कुनै चन्द्रमासमा सूर्यले राशि परिवर्तन (सङ्क्रान्ति) गर्दैन, त्यसलाई अधिकमास भनिन्छ । यो मास सामान्य मासभन्दा अतिरिक्त हुन्छ र यसलाई मलमास, मलिनमास वा पुरुषोत्तम मास पनि भनिन्छ । औसतमा ३२ महिना १६ दिनमा एकपटक आउँछ । यसले तिथि, नक्षत्र र मौसमबिचको सामञ्जस्य कायम राख्छ । विना यसको, चाडपर्व मौसमबाट विच्छेद हुनेछन् – जस्तै दसैँ गर्मीमा वा होली जाडोमा पर्न सक्छ । यो प्राचीन भारतीय खगोलशास्त्रीको अद्भूत गणना हो ।
वैज्ञानिक कारण
वैज्ञानिक रूपमा यो पृथ्वीको सूर्य परिक्रमा (३६५.२४२२ दिन) र चन्द्रको पृथ्वी परिक्रमा (२७.३ दिन) को बिचको भिन्नता हो । चन्द्रले पूर्णिमा देखाउन सूर्यसँगको सापेक्ष स्थितिअनुसार थप २.२ दिन लाग्छ, जसले वार्षिक १०.८७ दिनको अन्तर निम्त्याउँछ । प्राचीन ऋषिले यो अन्तरलाई ‘अधिकमास’ थपेर समाधान गरे । यो केवल धार्मिक होइन, कृषि चक्र, मौसम र जैविक घटनासँग जोडिएको छ । यसले हाम्रो पञ्चाङ्गलाई युगौँदेखि सही राखेको छ । आधुनिक खगोलशास्त्रले पनि यो अन्तरक्रिया प्रणालीको प्रशंसा गर्छ, जसले ग्रेगोरियन क्यालेन्डरको लिपवर्षजस्तै काम गर्छ, तर चन्द्रमामा आधारित छ ।
परम्परागत तथा पौराणिक कारण
शास्त्रानुसार अधिकमासमा कुनै स्वामी देवता थिएनन् । यसलाई मलमास भन्दै निन्दा गर्न थालियो । पीडित मलमास भगवान् विष्णुकहाँ गए । भक्तवत्सल विष्णुले यसलाई आफ्नो संरक्षण दिए र पुरुषोत्तम मास नाम दिए । यसैले यो मास विष्णुको विशेष मास बनेको छ । पुराणमा यसको महिमा गाइएको छ । यस मासमा गरिने पूजा, व्रत, दान र कथा श्रवणले असीम पुण्य दिन्छ । कुनै–कुनै कथामा भगवान् विष्णुले यो मासलाई आफ्नो नाम दिएर यसलाई पवित्र बनाएको उल्लेख छ । नेपाल र भारत दुवैमा यो परम्परा जीवन्त छ ।
मुख्य प्राचीन कथा
मलमासको विष्णु शरण र पुरुषोत्तम नाम प्राप्ति (सबैभन्दा प्रसिद्ध) १२ महिनाका आ–आफ्ना स्वामी देवता छन् (जस्तै चैतको ब्रह्मा, वैशाखको माधव आदि), तर अधिकमास स्वामीविहीन थियो । यसकारण यसलाई मलमास भन्दै निन्दा र तिरस्कार गर्न थालियो । मलमास अत्यन्त दुःखी भयो । दुःखी मलमासले भगवान् विष्णुको शरण लिन वैकुण्ठ पुग्यो र आफ्नो पीडा सुनायो । भक्तवत्सल विष्णुले यसलाई सान्त्वना दिँदै अनन्तलोक लगे जहाँ भगवान् श्रीकृष्ण विराजमान थिए । श्रीकृष्णले मलमासको व्यथा सुनेर भन्नुभयो, ‘म पुरुषोत्तम हुँ, आजदेखि तिमी पनि पुरुषोत्तम मास नामले प्रसिद्ध हुनेछौ । म तिम्रो स्वामी बन्छु । मेरो जति गुण, वैभव र महिमा छन्, ती सब तिमीलाई दिन्छु । यस मासमा गरिने भक्ति, दान, व्रत, जप, कीर्तन र सत्कर्मले अन्य महिनाको भन्दा हजार गुणा बढी फल दिन्छ । यसले पाप नास, इन्द्रिय जित र मोक्षको मार्ग खोल्छ ।’ यसपछि मलमास अत्यन्त प्रसन्न भयो र पुरुषोत्तम मास बनेको हो । यो कथा पद्म पुराणमा विस्तृत छ र पुरुषोत्तम मास महात्म्यका विभिन्न अध्यायमा वर्णन गरिन्छ ।
धार्मिक तथा परम्परागत चालचलन
अधिकमासलाई पुरुषोत्तममास भन्दै विष्णुभक्ति, नारायण पूजा र पुराण कथा श्रवणको समय बनाइन्छ । यस अवधिमा गरिनुपर्ने कामहरू :
- भगवान् विष्णु, कृष्ण वा नारायणको पूजा, अर्चना र भजन-कीर्तन ।
- विष्णु सहस्रनाम, द्वादशाक्षरी मन्त्र (‘ॐ नमो भगवते वासुदेवाय’) जप ।
- पुरुषोत्तम मास महात्म्य कथा श्रवण ।
- सात्विक आहार, एक समय भोजन वा व्रत (विशेष गरी एकादशी) ।
- दान : अन्न, वस्त्र, घिउ, गुड, दीप, मालपुवा, जल आदि । ३३ प्रकारका देवतालाई सम्झेर अपूप दान (मालपुवा) विशेष फलदायी मानिन्छ ।
- गाई, ब्राह्मण, गरिबलाई भोजन, सेवा र दान ।
- ध्यान, गीता/भागवत पाठ, मन्दिर दर्शन ।
- नित्यकर्म, वार्षिकी, श्राद्ध (केही सन्दर्भमा) र दैनिक पूजा जारी राख्न सकिन्छ ।
यो समय आन्तरिक साधना, आत्मशुद्धि र पुण्य सञ्चयको हो । धेरैले यसलाई ‘स्पिरिचुअल रिट्रिट’ जस्तै मनाउँछन् ।
गर्न नमिल्ने काम
- विवाह, ब्रतबन्ध, चूडाकर्मजस्ता माङ्गलिक संस्कार ।
- गृहारम्भ, गृहप्रवेश, नयाँ घर निर्माण वा सर्ने ।
- देवता प्रतिष्ठा, दीक्षा, व्रत आरम्भ, यज्ञ, महादान ।
- नयाँ व्यवसाय, लगानी, यात्रा वा शुभारम्भ ।
- सप्ताह, नवाह, महारुद्रीजस्ता ठुला अनुष्ठान ।
- गर्भाधान (केही परम्परामा) ।
- नयाँ सवारी किन्ने, मुण्डन, तीर्थयात्रा (केही) आदि ।
शुभमुहूर्त नहुने भएकाले यी कार्य टारिन्छन् । यसले सामाजिक जीवनलाई केही शान्त बनाउँछ र आध्यात्मिकतर्फ मोड्छ । नेपालमा ज्योतिष तथा धर्मशास्त्रअनुसार यी नियम कडाइका साथ पालना गरिन्छ ।
आधुनिक सन्दर्भ र महत्त्व
आजको व्यस्त जीवनमा अधिकमासले स्मार्टफोन, कम्प्युटर र सोसल मिडियाजस्ता डिजिटल उपकरणबाट सचेतपूर्वक केही समयका लागि टाढा रहनु वा ब्रेक लिन र माइन्डफुलनेसको अवसर दिन्छ । परिवारसँग समय बिताउने, स्वास्थ्यप्रति सचेत हुने र समाजसेवा गर्ने समय हो यो । वैज्ञानिक रूपमा यसले पर्यावरणीय चक्रसँग जोडिन्छ – कृषि, मौसमअनुकूलन । यो मासले हामीलाई सम्झाउँछ – समय प्राकृतिक नियममा चल्छ, हामीले आफूलाई त्यससँग तालमेल मिलाउनुपर्छ । पुरुषोत्तम मासमा गरिने साधनाले पाप नास र मोक्ष प्राप्तिको मार्गप्रशस्त गर्छ भन्ने विश्वास छ ।
निष्कर्ष
विसं २०८३ को अधिकमास (जेठ ३ देखि असार १ सम्म) हाम्रा लागि पुण्य कमाउने, आत्मा शुद्ध गर्ने र परम्परालाई जोगाउने अवसर हो । वैज्ञानिक सन्तुलनको यो प्रणालीले हाम्रो संस्कृति कति गहन छ भन्ने देखाउँछ । यस अवधिमा बाहिरी स्वरबाट टाढा रहेर भित्री शान्ति खोजौँ, विष्णुभक्तिमा लीन होऔँ र दान-पुण्यबाट समाजलाई योगदान दिऔँ । यो मासले सिकाउँछ-हरेक ‘अतिरिक्त’ समयलाई पवित्र बनाउन सकिन्छ यदि हृदय शुद्ध र भावना सही छ भने पुरुषोत्तम मासको जय होस् । हरि ॐ ।
विदुर-१०, गेर्खु, नुवाकोट







प्रतिक्रिया