+
Search

ताजा अपडेट +

पपुलर +

वन कार्यालयपरिसरमै लाखौँ मूल्यका काठ र ट्रक कुहिँदै

वन कार्यालयपरिसरमै लाखौँ मूल्यका काठ र ट्रक कुहिँदै
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी उल्झनका कारण समयमै न्यायिक निरुपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौँ मूल्यका सालका काठ र काठ ढुवानी गर्ने साधन कुहिएर कवाडी भइरहेका छन् । समयमै न्यायिक निरुपण नहुँदा लाखौँ मूल्यका काठ र काठ बोक्न प्रयोग भएका सवारीसाधन वन कार्यालय नुवाकोटको कम्पाउन्डमा कुहिएर नष्ट भइरहेको छ । बरामद काठ र काठ बोक्न प्रयोग भएका सवारीसाधन बिग्रिन नदिन सम्बन्धित सरोकारवाला निकायको ध्यान नपुगेको गुनासो नागरिकले गरेका छन् ।

वन ऐन, २०७६ अनुसार वन पैदावारसम्बन्धी मुद्दामा देखिएको क्षेत्राधिकारसम्बन्धी विरोधाभाषका कारण अनुसन्धान तथा फैसलामा समस्या हुँदा प्रदेश सरकारमातहत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्तारत वन पैदावारसम्बन्धी मुद्दा लामो समयदेखि थाती रहेको छ । जसकारण कार्यालयपरिसरमा रहेको सयौँ क्युफिट सालको काठ एवम् वन पैदावार कुहिने अवस्थामा रहेको छ भने ढुवानी साधनसमेत कुहिएर कवाडी बनेका छन् । वन ऐन, २०७६ को दफा ६२ (१) अनुसार एक वर्षसम्म कैद सजाय हुने कसुर तथा मुद्दा प्रदेश सरकारमातहतको डिभिजन वन कार्यालयका अधिकृतले गर्ने भनिएको छ । तर, सोही ऐनको दफा ६७ (१) मा सोही प्रकृतिको मुद्दामा नेपाल सरकारमातहतको डिभिजन वन कार्यालयका अधिकृतले गर्ने उल्लेख गरिएकाले क्षेत्राधिकारसम्बन्धी द्विविधाका कारण प्रदेश सरकारअन्तर्गत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएको वन पैदावारसम्बन्धी अहिले १४ वटा मुद्दाको अनुसन्धान तथा न्यायिक निरुपणमा समस्या भएको हो । सरकारद्वारा सामुदायिक वन फँडानीलाई नियन्त्रण गर्ने उद्देश्यले करिब दुई दशकदेखि अवैध रूख कटान र सालको काठ ओसारपसारमा पूर्ण रोक लगाएको हो । जससँगै डिभिजन वन कार्यालय नुवाकोटद्वारा विभिन्न समयमा पक्राउ तथा नियन्त्रणमा लिएका सालका गोलिया र तयारीसहित सयौँ क्युफिट काठमा धुलिया लागेको छ भने मिनीट्रक/ट्रकसमेत कुहिएर कवाडी बनेका छन् । असार मसान्तमा जिल्ला अदालतले कार्यालयपरिसरमा रहेको सयौँ क्युफिट सालको काठ एवम् वन पैदावार र ढुवानी गर्ने सवारीसाधनको स्थलगत अनुगमन गरेर विवरण सङ्कलन गरेको थियो ।

अदालतले निर्देशन गरेर न्यायलाई शून्यमा राख्न हुँदैन भनेर न्यूनतम मूल्याङ्कन गरेर सम्बन्धित धनीलाई दिनु, सम्बन्धित धनी नआए लिलाम प्रक्रिया अगाडि बढाउनु भनेर पत्र आएको सहायक वन अधिकृत एवम् सूचना अधिकारी राजकुमार यादवले जानकारी दिए । अदालतको पत्र आएपछि एकजनाले मूल्याङ्कनअनुसार सवारीसाधन लिएर गएको उनले बताए । वन पैदावारसम्बन्धी रहेका १४ वटा पुरानो मुद्दाको फाइल वन अधिकृतले अध्ययन गरिरहेकोसमेत उनले बताए । कार्यालयपरिसरमा वर्षौँदेखि दशवटाभन्दा बढी काठ ओसार–पसारमा प्रयोग भएका ट्रक नियन्त्रणमा लिँदा बरामद गरेको काठ खुला आकाशमुनि रहेकाले कुहिँदै गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह