बट्टारमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

  • त्रिशूली प्रवाह
  • १५ भाद्र २०८०, शुक्रबार ११:०८
  • सज्जन उत्सुक सापकोटा

बट्टार, विद्युतीय सवारीसाधनको उपभोग बढाउन सरकारले भन्सार शुल्कदेखि विद्युत् शुल्कमा समेत छुट दिइरहेको छ । सरकारले दिएको छुटको उपभोग गर्दै अहिले विद्युतीय सवारीसाधनको खरिद गर्नेको सङ्ख्या बढिरहेको छ । विद्युतीय सवारीसाधन प्रयोग गर्नेको सङ्ख्या नुवाकोटमा पनि अहिले बढेको छ भने काठमाडौंलगायत अन्य जिल्लाबाट विद्युतीय सवारीसाधन लिएर घुम्न आउनेको सङ्ख्यामा पनि बढोत्तरी भइरहेको छ । विद्युतीय सवारीसाधन प्रयोगकर्ताको सहजताका लागि गत सातादेखि विदुर नगरपालिकाको बट्टारमा दुईवटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले विदुर नगरपालिकाको बट्टारमा विद्युतीय सार्वजनिक यातायात साधनका लागि र निजी विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सार्वजनिक यातायातका लागि बसपार्कमा र निजी विद्युतीय सवारीसाधनका लागि हावाघरमा चार्जिङ गर्ने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले विदुर नगरपालिका–४ को बसपार्क र हावाघरमा निर्माण भएका चार्जिङ स्टेसन गत बुधबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको इलेक्ट्रिक भेइकल चार्जिङ स्टेसनको उद्घाटन गत बुधबार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए । बुधबारदेखि इलेक्ट्रिक गाडी प्रयोगकर्ता नुवाकोटवासी र बाहिरबाट विद्युतीय सवारीसाधन लिएर आउनेलाई चार्जिङ स्टेसन सञ्चालनले सहज हुने मेयर श्रेष्ठले बताए । बसपार्कमा निर्माण भएको स्टेसनका लागि जग्गा विदुर नगरपालिकाले उपलब्ध गराएको थियो भने हावाघरको चार्जिङ स्टेसन नेपाल विद्युत् प्राधिकरणकै नाममा रहेको जग्गामा निर्माण भएको छ । चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, १३ वटै वडाका वडाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ र नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।