तुप्चे, नुवाकोटको विदुर नगरपालिका-७ साबिक तुप्चे गाविसमा सञ्चालनमा रहेको तुप्चे साना किसान कृषि सहकारी संस्थाको प्रारम्भिक साधारणसभा भदौ ९ गते शनिबार सम्पन्न भएको छ ।
सहकारीको तदर्थ समितिकी अध्यक्ष ज्ञानुमाया ढकाल थापाको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन विदुर नगरपालिका-७ का अध्यक्ष रवीन्द्र नेपालले गरेका थिए । सो कार्यक्रमका विशेष अतिथि साना किसान कृषि सहकारी महासङ्घका केन्द्रीय प्रतिनिधि पवित्रा घिमिरे र अतिथि चण्डेश्वरी माविका प्रधानाध्यापक हरि रिजालले सहकारीको उद्देश्यमाथि प्रकाश पारेका थिए । उक्त साधारणसभाले सहकारीको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः ज्ञानुमाया ढकाल थापालाई चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कुमार सापकोटा, सदस्यमा नरबहादुर तामाङ, अम्बिका अधिकारी अर्याल, कुमारी लामा, दिलमाया तामाङ, कविता रिमाल, सुशीला अधिकारी र मानबहादुर तामाङ रहेका छन् । साधारणसभाले सहकारीको लेखा समितिको संयोजकमा दुर्गा शाही, सदस्यमा लोयल तामाङ र सरोजा दाहाललाई चयन गरेको छ । सहकारीले कृषि उत्पादन अभिवृद्धिका लागि रासायनिक मल, बिउ-बिजन तथा विषादीको बिक्री-वितरण र कृषकलाई आवश्यक कृषि तथा पशुपालनको तालिम व्यवस्थापन गर्ने नीति साधारणसभाले पारित गरेको छ ।