धुन्चे, रसुवा एक सय आठ कुण्ड रहेको जिल्ला हो । कुण्डैकुण्डको जिल्ला भएर पनि केहीबाहेक अधिकांश कुण्ड धार्मिक महत्वको हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावमा गुमनाम छन् । धार्मिक महत्व बोकेको १४ हजार फिटको उचाइमा रहेको पर्यटकीयस्थल नौकुण्ड प्रचार–प्रसारको पर्खाइमा देखिन्छ ।
नौकुण्ड पुग्नका लागि आधा दर्जन पदमार्ग रहेकाले सहज छ । कालिका गाउँपालिकामा पर्ने पासाङल्हामु राजमार्गको कालिकास्थानबाट जिबजिबे, ज्यङलाङ, लोकिल, बक्सार परालथला हुँदै नौकुण्ड पुग्न सकिने मार्ग एउटा हो । नुवाकोटको विदुरबाट सूर्यगढी गाउँपालिकाको चोकदे, लच्याङ, सरमथली, पारच्याङ, लारच्याङ, यार्सा, सिम्बन्दी शर्मा, बकसार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग रहेको छ । काठमाडौंको बुढानीलकण्ठबाट नुवाकोट-दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार, बाघमारा, राउचुली हुँदै सागरकुण्डबाट यस क्षेत्रमा प्रवेश गर्न सकिन्छ । सुन्दरीजल वा मेलम्चीबाट ठाँडेपाटी घोप्टेफेदी-सूर्यकुण्ड-गोसाइँकुण्ड-भैरवकुण्ड हुँदै पनि नौकुण्डमा जान सकिन्छ भने रसुवाको सदरमुकाम धुन्चेबाट पनि नौकुण्ड जान सहज बाटो रहेको छ । नौकुण्ड धार्मिक तथा पर्यटकीयस्थल भन्ने कुरा गाउँपालिकाले चासो दिएर लागिपर्नुपर्छ । उचित प्रचार–प्रसारको कमीका कारण नौकुण्ड ओझेलमा परिरहेको छ । कुण्डै-कुण्ड मठमन्दिरको जिल्ला नौकुण्डभित्र धेरै घुम्नेलायक स्थल रहेका छन् । नौकुण्डको नामबाट जिल्लाको पाँच पालिकामध्ये एकको नामकरणसमेत गरिएको छ । कुण्डले पालिकालाई समेत चिनाएको छ । कुण्डको प्रचार–प्रसार नहुँदा पालिका नै ओझेलमा परिरहेको छ । यस क्षेत्रमा बहुजाति, भाषा, धर्म र अनेकतामा एकता रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा रहेको लम्बेकुण्डलगायतका नौकुण्ड यसै गाउँपालिकाभित्र रहेको छ ।
काठमाडौंको बुढानीलकण्ठबाट नुवाकोटको शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका हुँदै नौकुण्डबाट गोसाइँकुण्ड पुग्न सकिने पदमार्गसमेत रहेको छ । यो पदमार्गका लागि नेपाल सरकारमार्फत पर्यटन बोर्डले मर्मत र सम्भारका लागि बजेट विनियोजन भइरहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो कुण्डको वरिपरि एक दर्जन कुण्ड रहेका छन् । लम्बेकुण्ड, नागकुण्ड, राजारानीकुण्ड, छेडाकुण्ड, एक्लेकुण्ड, कामी–कमिनीकुण्ड र अन्य दुई कुण्डको पेरिफेरी परिचित छ, तर नौकुण्डबारे भने कमै मानिस मात्र परिचित छन् । यसै कुण्डबाट गाउँपालिकाको नामकरण गरिएको पालिकाका अध्यक्ष नुर्बुसाङ्बो घलेले बताए । पालिका टिम नै नौकुण्डको प्रचार-प्रसारदेखि आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन योजनाबद्ध ढङ्गले लागिरहेको उनले बताए । अहिले गाउँपालिकाले गुरुयोजना बनाएर नौकुण्ड पुग्ने पदमार्गको स्तरोन्नति तथा मर्मत-सम्भार गर्नेलगायतका कार्य गरिरहेको छ । धार्मिक हिसाबले गोसाइँकुण्ड, पार्वतीकुण्डजत्तिकै महत्वको नौकुण्डको प्रवद्र्धनमा सरोकारवाला निकायको सक्रियता आवश्यक देखिन्छ । रसुवामा पाइलैपिच्छे भेटिने यस्ता कुण्ड तथा धार्मिक महत्वका मठमन्दिर र हिमाली शृङ्खलाबारे प्रचार-प्रसार गरेर जिल्लावासीले वैकल्पिक आय-आर्जनको कार्य गर्न सक्छन् । नौकुण्ड बाह्रै महिना आवत-जावत गर्न सहज रहेको र हिमाली दृश्यावलोकनका लागि केन्द्रबिन्दु हुँदाहुँदै पनि प्रचार–प्रसारको खाँचो रहेको रसुवा-नुवाकोट पर्यटक समाजका उपाध्यक्ष शिव लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।