विदुर, नेपाल रेडक्रस सोसाइटीको ५१औँ स्थापना दिवसको अवसरमा नुवाकोट रेडक्रस सोसाइटी जिल्ला शाखाले मंगलबार रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेको छ । रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला शाखाबाट सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन तथा व्यवस्थापनका साथै निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापनार्थ रकम सङ्कलन अभियान शुभारम्भ गरेको हो ।
मनैदेखि सेवा’ नाराका साथ मंगलबार देशव्यापी रेडक्रस दिवस मनाइएको छ । उक्त कार्यक्रममा जिल्ला शाखाका सभापति हरि श्रेष्ठले जिल्लामा सञ्चालित नियमित गतिविधिबारे जानकारी गराउँदै निःशुल्क रगत अभियानको सम्बन्धमा प्रस्ट्याएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आतिथ्यतामा सम्पन्न रेडक्रस स्थापना दिवसमा उपस्थित म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ, नागरिक समाजका अध्यक्ष बद्री तिवारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, रक्तदाता मछिन्द्रनरसिंह प्याकुरेल, रेडक्रस नुवाकोटका पूर्वसभापति रामप्रसाद जोशी, रेडक्रस नुवाकोटका कार्यसमिति सदस्य विनोद पाठकलगायतले एक करोड कोष अभियानलाई साथ र सहयोग रहेको प्रतिबद्धता जनाएका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले मानवीय सेवामा समर्पित रेडक्रसको हरेक अभियानमा सहयोग गर्दै आइरहेको बताउँदै निःशुल्क रगत अभियानका लागि स्थापना गरिएको एक करोडको कोषका लागि सेवा गर्ने र सेवा लिनलाई पनि समेट्न सुझाव दिए । सो अवसरमा रेडक्रसले जिल्ला अस्पताल त्रिशूलीका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितलाई अक्सिजन, कन्सेट्रेटर एक सेटसहित सर्जिकल माक्स, पिपिई सेट, ब्ल्याङकेटलगायत दुई कार्टुन मेडिकल सामग्री हस्तान्तरण गरेको थियो । नुवाकोटमा मानवीय सेवाका लागि क्रियाशील रेडक्रसको एक करोडको कोष स्थापनाको अनुमानित स्रोत जुटाउने खाका कोषाध्यक्ष नवराज सुवेदीले प्रस्तुत गर्दै सहयोगका लागि अपिल गरेका थिए । कोषको ब्याजले सेवा केन्द्रको खर्च व्यवस्थापन भई बिरामीलाई नियमित निःशुल्क रगत उपलब्ध हुने समेत उनले बताए ।
सो कार्यक्रममा शाखाका प्रमुख कर्मचारी समुन्द्र अधिकारीले हालसम्मको रेडक्रस गतिविधिको विस्तृत जानकारी गराएका थिए । ०३४ साल असोज १८ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखामा हाल २३ उपशाखा, दुई सय ४१ जुनियर रेडक्रस सर्कल, चारवटा युवा रेडक्रस सर्कल, आठजना यशस्कर सदस्य, ४१ जना विशिष्ट सदस्य र दुई हजार सात सय ६८ आजीवन सदस्य रहेका छन् । नुवाकोट रेडक्रसको १३ वटा विषयगत समिति क्रियाशील रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले २४सै घण्टा रक्तदान तथा रक्ततत्व सेवा दिँदै नियमित रक्तदान शिविर सञ्चालन गरिरहेको छ । रक्त सञ्चार सेवा केन्द्रले नुवाकोट, रसुवा तथा धादिङ जिल्लाका बिरामी तथा घाइतेका लागि सेवा प्रवाह गरिरहेको छ । केन्द्रले गत आ.व.०७९/८० मा एक हजार पाँच सय ९८ जनाबाट रगत सङ्कलन गरी सेवा प्रवाह गरेको थियो । केन्द्रले नुवाकोट र रसुवाका पालिकासँगको सम्झौताअनुसार पालिकाभित्रका नागरिकलाई रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराइरहेको छ । जिल्ला शाखासहित पञ्चकन्या, दुप्चेश्वर र झिल्टुङ उपशाखामा चारवटा एम्बुलेन्स जिल्लामा सञ्चालन भइरहेको छ । रेडक्रसले जिल्लामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंमार्फत ०६० सालदेखि सहकार्यमा स्थापना गरेको सामुदायिक आँखा केन्द्रबाट सेवा दिइरहेको छ । रेडक्रसले जिल्लामा विभिन्न विपत्बाट प्रभावित भएका परिवारका लागि गैरखाद्य सामग्री वितरण गर्दै आइरहेको छ ।




प्रतिक्रिया