गोसाइँकुण्डको भेटी ३,२८,०५१

  • त्रिशूली प्रवाह
  • २१ भाद्र २०८०, बिहीबार १२:२८
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको प्रमुख पर्यटकीय धार्मिकस्थल गोसाइँकुण्डमा तीर्थयात्रुले यस वर्षको जनैपूर्णिमाको अवधिमा सुरु भएको मेलामा चढाएको भेटीको गणना सम्पन्न भएको छ । मेलामा पुगेका तीर्थयात्रीले चढाएको भेटी तीन लाख २८ हजार ५१ रुपैयाँ रहेको छ ।

भदौ ७ गतेदेखि १४ गतेसम्म यस वर्षको जनैपूर्णिमा मेलाको अवसरमा देशभरबाट आएका तीर्थालुले चढाएको भेटी सङ्कलन गर्दा तीन लाख २८ हजार ५१ रुपैयाँ रहेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवालधे सार्वजनिक गरेको छ । उक्त भेटी समितिको नाममा रहेको नबिल बैंकको खातामा दाखिला भइसकेको अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । सामुद्रिक सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र गोसाइँकुण्डमा जनैपूर्णिमा मेला भर्न १५ हजार तीर्थालु पुगेको आकलन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार नुवाकोटको घ्याङफेदी-दुप्चेश्वर हुँदै र सिन्धुपाल्चोकको हेलम्बु हुँदै सुन्दरीजलबाट देशभरका तीर्थालु गोसाइँकुण्ड पुगेका हुन् । गोसाइँकुण्डमा स्नान गरी पूजा-आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख, शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूर्णिमाको दिन कुण्डको जलाशयमा फूल, प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ ।