+
Search

ताजा अपडेट +

पपुलर +

सुन तस्करीको सञ्जाल रसुवागढी नाकामा विस्तार

सुन तस्करीको सञ्जाल रसुवागढी नाकामा विस्तार
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, नेपालको चीनसँगको व्यावसायिक कारोबार भइरहेकोे रसुवागढी नाका सञ्चालनमा आएसँगै अवैध कारोबार धन्दासमेत मौलाइरहेको पुष्टि भएको छ । रसुवागढी नाकाबाट पछिल्लो समय सुन तस्करी गर्ने गिरोहका लागि सुगममार्ग बनेको छ । भदौको दुई हप्तामा मात्र यो नाकाबाट भन्सार छली गरेर ल्याएको तीन केजी सुन बरामद भएको छ । भन्सार छली गरेर ल्याएको सुन बरामद भएसँगै यो नाका त्रिभुवन विमानस्थलपछि सुन नेपाल भित्र्याउन प्रयोग हुने नाकाको रूपमा रहेको प्रमाणित भएको छ । दुई हप्तामा तीन केजी सुन बरामद भएपछि सुरक्षा सतर्कता कडा पारिएको छ । त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच कडा भएपछि सुन तस्करीको सञ्जाल रसुवागढी नाकामा विस्तार भइरहेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बाहिरिएको विषयमा छानबिनको चर्चा सेलाउन नपाउँदै चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीबाट भित्रिएको दुई किलो सुनसहित भदौ २ गते शनिबार दुईजनालाई प्रहरीले रसुवाको स्याफ्रबेँसीमा पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेँसीबाट दुई किलो सुनसहित दुईजनालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि बरामद सामानसहित कारबाहीका लागि राजस्व विभागमा पठाएको छ । रसुवागढी नाकासँगैको टिमुरेबजारबाट स्याफ्रुबेँसीतर्फ आउँदै गरेका पैदलयात्री सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका– ५ पोखरी बस्ने वर्ष २४ का सुदीप शेर्पालाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा शेर्पाले लगाएको सेतो रङको टी-सर्टभित्रको कालो रङको चेस्टगार्डको भित्री खल्तीमा दुई किलो सुन लुकाइछिपाई ल्याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ बगम स्थायी घर भई हाल टिमुरेमा बसोवास गर्दै आएका वर्ष ३० का फुसाङ्बु शेर्पाले उक्त पहेँलो धातु दिएको भन्ने जानकारी पाएपछि फुसाङ्बु शेर्पालाई पक्राउ गरी दुवैलाई राजस्व विभागमा पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । शनिबार बेलुका ६ बजेतिर पासाङल्हामु राजमार्ग स्याफ्रुबेँसीबाट नियमित चेकजाँचको क्रममा दुई किलो सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।

Suzuki New Bike & Scooter

स्याफ्रुबेँसीमा सुन बरामद भएको दुई हप्तापछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ३ की ४१ वर्षीया पाछेमु तामाङ गुरुङ एक किलो सुनसहित भदौ १६ गते शनिबार चेकजाँचको क्रममा पक्राउ परेकी छिन् । शनिबार करिब ११ः१५ मा रसुवागढीको मितेरीपुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमनकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सारले संयुक्त चेकजाँच गर्दा उनी पक्राउ परेकी हुन् । चीनको भू-भागबाट नेपालतर्फ पैदल आउँदै गरेकी उक्त महिलाको साथबाट लुकाइछिपाई चारवटा टुक्रा पारी ल्याएको सुन फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए । केही समयदेखि केरुङ नाकाबाट सुन तस्करी कम भएको भनिए पनि चिनियाँ पक्षले रसुवागढी नाकाबाट आयात–निर्यात र रसुवावासीलाई आवत-जावतमा खुला गरेपछि सुन तस्करले फेरि यो नाका प्रयोग गर्न थालेको रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुप्साङ तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह