+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटमा मुर्रा भैँसीपालन फस्टाउँदै

बेलकोटमा मुर्रा भैँसीपालन फस्टाउँदै
त्रिशूली प्रवाह
२ साल अगाडी

बेलकोटगढी, नुवाकोटको बेलकोटगढी नगरपालिकामा मुर्रा जातका भैँसीपालन हुँदै आएको छ । शारीरिक बनावट र दूध उत्पादनका हिसाबले महत्वपूर्ण मानिँदै आएको मुर्रा जातको भैँसी केही वर्षअघिबाट बेलकोटगढी नगरपालिकामा पालन हुँदै आएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रा.लि.मा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी ल्याएर पाल्न सुरु भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ । त्यस फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणालगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिने गरेको छ । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ । पूर्ण मुर्रा भैँसी निकै महङ्गो पर्छ । यस फर्मले प्रतिभैँसी दुई लाखदेखि १० लाखसम्ममा ल्याएको हो । अहिले फार्मको राँगो स्थानीय अरू मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ । यसबाट यसको नश्ल क्रमशः सुधार हुन सहयोग मिल्नेछ । उच्च शिक्षाका लागि बेलकोटबाट ०४६ सालमा काठमाडौं छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गरेका थिए भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गरेका थिए ।

कृषि र पशुपालनसहित विषादीरहित खानाको अभियानमा जोडिएका महत्वपूर्ण व्यावसायिक सम्मान (सिआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाएका छन् । कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी र १० गाई रहेका छन् । फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ । गाई-भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताए । गाई-भैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर अस्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुने बताउने कँडेलको फर्ममा हालसम्म करिब डेढ करोडको लगानी भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह