विदुर, राजधानी काठमाडौं जोड्ने नुवाकोटको पुरानो सडकमार्ग बालाजु–तीनपिप्ले–रानीपौवा–पिपलटार सडकको ठेक्का तोडेको एक वर्षपछि पुनः ठेक्का गर्ने तयारी भइरहेको छ । उक्त सडक निर्माण गर्ने भनेर विगत नौ वर्ष अघिदेखि ठेक्का लागेर अहिलेसम्म निर्माण हुन सकेको छैन । निर्माण गर्ने भनेर नौ वर्षअघि तीनपिप्ले–रानीपौवा–पिपलटार सडकको ठाउँठाउँमा भत्काएर अलपत्र छाडेपछि स्थानीयलाई जीवनयापनमा समस्या भइरहेको छ ।
यो सडकखण्डको निर्माणका लागि ६ वर्षदेखि स्थानीय उपभोक्ता, सरोकारवाला, स्थानीय जनप्रतिनिधि, प्रदेश र सङ्घमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलगायत पूर्वमन्त्रीले समेत पटक–पटक सम्बन्धित निकायमा दबाब दिए पनि निर्माणकार्यले हालसम्म गति लिन सकेको छैन । चौतर्फी दबाबको कारण उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितताका लागि अहिले माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्रोत सुनिश्चितताको माग गरेसँगै अब केही वर्षमै यो सडक निर्माण हुने विश्वास स्थानीय सडक उपभोक्ताले गरेका छन् । बालाजु–रानीपौवा–पिपलटार सडकको कुल दूरी ५५.५ किलोमिटर रहेको छ । त्यसमध्ये अहिले तीनपिप्ले–रानीपौवा सडकको दूरी मात्र १२.५ किलोमिटर छ । यो सडकको स्तरोन्नतिका लागि एक अर्ब ३३ करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरिएको मन्त्रालयले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा विनियोजित ५० करोड रुपैयाँ अपुग हुने भन्दै थप रकमको स्रोत सुनिश्चितता माग गरिएको हो । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गर्न लागिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर, सातपटक म्याद थप्दा पनि काम सकिएन । काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिएको इन्फ्रा पावर लिमिटेड (एआइपिएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग गत वर्ष ०७९ असार ५ मा ठेक्का सम्झौता तोडेर तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । यी कम्पनीलाई तीन वर्षका लागि गत वर्ष नै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको छ । बालाजुदेखि तीनपिप्लेसम्मको सडकखण्ड फोहोरमैला बोक्न समस्या भएकाले गत वर्ष नै चौतर्फी दबाब परेपछि सडक सुधार तथा विकास योजना कार्यालयले छोटो प्रक्रिया अपनाएर सडक कालोपत्रे गरिसकेको छ । अहिले उक्त खण्डमध्ये तीनपिप्ले–रानीपौवा १२.५ किलोमिटरमा ठेक्का गरेर स्तरोन्नति गर्न लागिएको हो । बालाजुदेखि तीनपिप्लेसम्मको सडकमा भने कुनै समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए । ‘ठेक्का तोडेको खण्डमा फेरि ठेक्का गरेर काम गर्न लागिएको हो,’ उनले भने, ‘त्यसका लागि स्रोत सुनिश्चितताको माग गरिएको छ, अर्थले सहमति दिए चालू आर्थिक वर्षमै ठेक्का गर्न सकिन्छ ।’
त्यस्तै रानीपौवा–पिपलटार खण्डको पनि यही आर्थिक वर्षमा ठेक्का गर्न परामर्शदातालाई सर्भे गर्न लगाइएको छ । त्यसका लागि परामर्शदाताले डेढ महिनाको समय मागेको उनले सुनाए । परामर्शदाताबाट फाइनल रिपोर्ट पेस भएपछि त्यसका लागि पनि स्रोत सुनिश्चितता माग गरिने आयोजनाले जनायो । रानीपौवाबाट पिपलटार ३४ किलोमिटर छ । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे चार किलोमिटर सडक बनिसकेको छ । रानीपौवा–पिपलटार सडकमा भने डेढ महिनापछि स्रोत सहमतिका लागि अर्थ र राष्ट्रिय योजना आयोग पठाइनेछ । ‘दुवै खण्डको ठेक्का चालू आर्थिक वर्षमै गर्ने गरी तयारी गरिरहेका छौँ,’ उनले भने, ‘चालू आर्थिक वर्षमा दुवै खण्डका लागि बजेट सुनिश्चित भए ठेक्काको काम टुङ्गिन्छ ।’ रानीपौवा–पिपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) गरेपछि ठेक्का लगाइनेछ । यहाँ दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ । रानीपौवा–पिपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एण्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ । नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार–व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौँसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । ‘नौ वर्षअघि स्तरोन्नतिका नाममा सडक भत्काएदेखि स्थानीयलाई जीवनयापनमा समस्या भएको छ, सडकको छेउछाउमा तरकारी, फलफूल र होटेल व्यवसाय गरेर जीवन निर्वाह गर्ने अहिले पलायन बनेका छन्,’ उनले भने, ‘तरकारी, फलफूल लगाउनेले हिजोआज लगाउन छाडेका छन् ।’ ट्राउट माछाको स्वाद लिन काठमाडौंदेखि आन्तरिक पर्यटक आउने गरे पनि अहिले सडकको अवस्थाले गर्दा त्यो क्रम घटेको व्यवसायी मदन लामाले बताए । ‘अहिले होटेल व्यवसाय बन्द भएर घरवासै उठेको अवस्था छ,’ उनले भने ।
बालाजु–रानीपौवा–पिपलटार सडक निर्माण शीघ्र सुरु गर्न दबाब दिन नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य र राजनीतिक दलका नेताहरूले शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारी निवास बालुवाटारमा भेटेका छन् । नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्यहरू अर्जुननरसिंह केसी, सीता मिजार, हितबहादुर तामाङ, विमला सुवेदी, नेपाली काङ्ग्रेसका नेता जगदीश्वरनरसिंह केसीलगायत स्थानीय जनप्रतिनिधिको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बालाजु–रानीपौवा–पिपलटार सडक निर्माणको प्रक्रिया अगाडि बढाउने ज्ञापनपत्रसमेत बुझाएका छन् ।






प्रतिक्रिया