विदुर, नुवाकोट पोल्ट्री व्यवसायका लागि अनुकूल हावापानी भएको जिल्ला हो । काठमाडौंसँग जोडिएको कारण नुवाकोटमा पोल्ट्री व्यवसाय गर्नेको सङ्ख्या पनि ठूलै छ । नुवाकोट पोल्ट्री उत्पादनमा आत्मनिर्भर जिल्ला नुवाकोटमा उत्पादित कुखुरा र अन्डाको प्रमुख बजार काठमाडौं हो ।
जिल्लाको पोल्ट्री व्यवसायको भिडमा अलग्गै पहिचान बनाउन सफल दीपकराज प्याकुरेलले विदुर नगरपालिका-२ मा विगत २० वर्षदेखि पोल्ट्री व्यवसाय गर्दै आइरहेका छन् । उनले अहिले कुखुरापालन गर्न इच्छुक युवालाई निःशुल्क परामर्श दिएर यो व्यवसायमा आकर्षित गराइरहेका छन् । उनले पोल्ट्री व्यवसायमा दुई दशकदेखि लगानी बढाउँदै ब्रोइलर कुखुरा पाल्दै, हुर्काउँदै, बजार व्यवस्थापन गर्दै आएका छन् । क्रमिक रूपमा ब्रोइलर, लेयर्स हुँदै कमर्सियल ब्रोइलर चल्ला उत्पादन गर्ने एवं चल्ला र दानाको व्यवस्था गर्दै भेटेनरी औषधिको समेत आवश्यक ज्ञान दिने र लिने कार्यमा संलग्न हुँदै पेसामा अझ बढी दख्खल राख्दै अघि बढिरहेका छन् । कुखुरापालनमा अहिले बिनाअध्ययन लगानी गर्ने क्रम बढेको छ, यदि कोही यो क्षेत्रमा आउन चाहन्छ भने अध्ययन गरेर मात्र आउनलाई उनले सुझाव दिने गरेका छन् । कुखुरापालन व्यवसायलाई बैंक तथा वित्तीय क्षेत्रबाट उदारतापूर्वक सहयोग नगरिएको बताउने प्याकुरेल कुखुरापालन व्यवसायीले राज्यमा योगदान पु¥याइरहे पनि अपेक्षित सहयोग व्यवसायीले नपाएको गुनासो गर्छन् । कुखुरापालन व्यवसायको आम्दानी भनेको कुखुराको मल र अण्डा दिन छोडेपछि कुखुरा बिक्रीबाट हुने रकम हो भन्छन् उनी । कुखुरापालनमा दुई दशकको अनुभव संगालेका प्याकुरेलले पटक-पटक नोक्सानी व्यहोर्दा पनि हार नखाई खटिँदै यसैबाट आम्दानी लिन सफल पनि छन् ।