खानेपानीको मुहान फेरि बगाउँदा विदुरमा पानीको हाहाकार

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:२१

विदुर, गत साउनको २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी ल्याएको फलाखु खोलाको बगाएको मुहान मर्मत सम्पन्न भएको दुई दिनमै फेरि सुक्खा पहिरोले मुहान क्षेत्र पुरिएपछि पानी वितरणमा समस्या परेको छ ।

विदुर नगरपालिका वडा नं. १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको पानीको मुहान मर्मत गर्न महिना दिनभन्दा बढी लाग्ने भएको छ । मुहानसँगैको क्षेत्रको डाँडै फुटेर ढुङ्गै-ढुङ्गाले दुई सय मिटर पाइप पुरिएको छ । उक्त ढुङ्गा हटाएर टेवा पर्खाल नलगाए पानीको पाइप बिछ्याएर पानी ल्याउन सक्ने अवस्था नरहेको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए । संस्थाले सिँचाइमा दुईवटा र ढुङ्गेको कृषि ज्ञान केन्द्रको परिसरमा एक गरी तीनवटा डिपबोरिङ गरे पनि पानीको आपूर्ति असहज भएको थियो । विदुरको ६ वडाका लगभग ५० हजार उपभोक्ताले उपभोग गरिरहेको पानीको माग प्रतिसेकेन्ड ८० लिटर रहेको छ भने आपूर्ति २० लिटर प्रतिसेकेन्ड रहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अस्थायी मर्मतका लागि आवश्यक खर्चको लागत अनुमान गरी जिल्ला विपत् व्यवस्थापन समिति र विदुर नगरपालिकालाई प्रारम्भिक क्षतिको प्राविधिक प्रतिवेदनसहित अनुरोध गर्ने तयारी गरिरहेको संस्थाका सचिव राजेन्द्र पाण्डेले बताए । तेस्रो साना सहरी खानेपानी आयोजनाले ०७८ सालदेखि विदुरको खानेपानीको सहज र दिगो व्यवस्थापनका लागि काम गर्न ठेक्का लगाएको थियो ।

फलाखु मुहान सम्झौताअनुसारको संरचना निर्माण नभएको पाइएकाले मुहानको संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुन्डी जेभीलाई संस्थाले ताकेता गरिरहेको छ । मंगलबार जिल्ला प्राकृतिक तथा दैवी प्रकोप समितिका पदाधिकारीबाट पहिरोले क्षति पुगेको मुहान क्षेत्रको अवलोकन भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहभागी सर्वपक्षीय टोलीले अनुगमन गरेर स्वच्छ र स्वस्थ खानेपानी यथाशक्य छिटो मुहान मर्मत गर्न ढिला भए वैकल्पिक व्यवस्था गरेर उपलब्ध गराउन पहल गर्ने निर्णय पहिरो क्षेत्रमा गरेको छ । यसअघि गत महिना पनि अविरल वर्षाको कारण आएको बाढीले फलाखु खोलाको मुहानमा क्षति पु¥याएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बजार क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट खानेपानी आलोपालो गरी वितरण गरेको थियो ।