बजार अनुगमन जारी माछा पसललाई ५० हजार जरिवाना

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:२४

विदुर, नुवाकोटको प्रमुख बजारमा गुणस्तरहीन खाद्य सामग्री बिक्री-वितरण भइरहेको जनगुनासो आएपछि जिल्ला अनुगमन समितिले असोज १ गते सोमबारदेखि बजार अनुगमनलाई तीव्र पारेको छ । सोमबार र मंगलबार १९ वटा पसलमा गरिएको अनुगमनमा अखाद्य वस्तु जफत र दुईवटा एकै व्यक्तिको फरक-फरक स्थानमा रहेको माछा पसललाई २० र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलीले लक्ष्मी साहले सञ्चालन गरेको त्रिशूली र बट्टारको माछा पसलमा अनुगमन गर्दा अखाद्य माछा फेला परेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (घ) बमोजिम त्रिशूलीलाई २० र बट्टारलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो । माछा पसललाई जरिवानासहित अखाद्य माछा बरामद गरी नष्ट गरेको अनुगमन टोली सदस्य एवम् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए । दुई दिनमा ११ वटा मासु पसल अनुगमन गर्दा अधिकांश पसल फोहोर र अव्यवस्थित रहेको, सम्बन्धित निकायमा दर्ता नगरेको पाइएकाले एकपटकलाई सचेत गराई छाडिएको अनुगमन समितिका संयोजक एवम् भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख भरत पाण्डेले जानकारी दिए । विदुर नगरपालिकाले करोडौँ खर्च गरेर वडा नम्बर ४ सिमचौरमा एक वर्षअघि निर्माण सम्पन्न भएको वधशाला सञ्चालनमा आउन नसक्दा बजारमा स्वच्छ, सफा र ताजा मासु बिक्री–वितरणमा समस्या परेको छ । नगरपालिकालाई वधशाला सञ्चालन गर्न नगरवासीले दबाब दिइरहेका छन् । अनुगमनको क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु गुणस्तरता, खरिद–बिक्री बिल र बिक्री बिलको निरीक्षण गरी देखिएका कमी–कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको बजार अनुगमन टोलीका प्रमुख एवम् सहायक प्रजिअ वेदनिधि अधिकारीले बताए । जिल्लाभरिका प्रायः सबै पसलको बजार अनुगमनलाई क्रमशः निरन्तरता दिँदै जानेसमेत उनले बताए ।