बागमती प्रदेशभरिकै उत्कृष्ट सामुदायिक विद्यालय पृथ्वी मावि सम्मानित र पुरस्कृत

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:२७

हेटौँडा (मकवानपुर), बागमती प्रदेशभरिका सामुदायिक र संस्थागत विद्यालयमध्येमा नुवाकोटको विदुर नगरपालिका–२ विदुरमा रहेको पृथ्वी मावि उत्कृष्ट विद्यालयमा छनोट भई पुरस्कृत भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट पाँच सामुदायिक र तीन संस्थागत विद्यालयलाई मंगलबार पुरस्कृत गरेको छ ।

गत वर्ष सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयमध्येबाट उत्कृष्टताका आधारमा छनोट भएकालाई मंगलबार सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा सामुदायिकतर्फ भक्तपुरको मेघा माध्यमिक विद्यालय प्रथम, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय द्वितीय र काठमाडौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएका हुन् । काठमाडौंकै पृथ्वीनारायण माध्यमिक विद्यालय र बलम्बु माध्यमिक विद्यालय क्रमशः चौथो र पाँचौँ भएका छन् । संस्थागत विद्यालयतर्फ बुढानीलकण्ठ नगरपालिकाको रिलायन्स इन्टरनेसनल एकेडेमी काठमाडौं, बालुवाटारको हिज किङ्स इन्टरनेसनल स्कुल र टोखाको फ्लोरोसेन्ट माध्यमिक विद्यालय क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः एक लाख, ८० हजार र ६० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । त्यस्तै, चौथो र पाँचौँ हुने विद्यालयले पनि क्रमशः ४० हजार र ३० हजार रुपैयाँ पाएका छन् । उत्कृष्ट विद्यालयलाई सम्मान गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिने गरी नीति बनाउन लागेको बताए । उनले प्रदेशभित्रका विद्यालयमा कृषि, स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिइने बताए । सो कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समाज सुधारका लागि पहिलो व्यक्ति शिक्षक भएकाले विद्यालयस्तरको शिक्षा सुधारमा योगदान पु¥याउन आग्रह गरिन् ।

०३२ मा स्थापना भएको पृथ्वी मावि लामो समयसम्म प्रावि तहमै सीमित रहेर ०७० मा पहिलोपटक एसएलसी परीक्षामा सम्मिलित भएको थियो । विद्यालय ०७५ को एसइई परीक्षामा जिल्ला प्रथम हुँदै ०७८÷७९ मा पनि जिल्ला प्रथमको स्थान कायम राख्दै ०७९ को एसइई परीक्षामा बागमती प्रदेशभरिमै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । पृथ्वी माविबाट ०७९ एसइई परीक्षामा ७१ जना विद्यार्थी सम्मिलित भएका थिए । हाल विद्यालयमा नौ सय विद्यार्थी अध्ययनरत भए पनि भौतिक साधन र शिक्षक दरबन्दीको अभाव झेलिरहेको छ । बागमती प्रदेशभरिमै दोस्रो उत्कृष्ट विद्यालय छनोट हुन सफल पृथ्वी माविले काठमाडौंका सामुदायिक र संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गरेर उक्त स्थान प्राप्त गरेको हो । उत्कृष्ट पाँचमध्ये उपत्यकाबाहिरको पृथ्वी मावि मात्र रहेको छ । यो उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।