त्रिशूलीबजार, नुवाकोटको विदुर नगरपालिका–१ को त्रिशूली बसपार्कमा टिमुरे यातायात प्रालिको लगानीमा दुईवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण सुरु भएको छ । सानो र ठूलो विद्युतीय गाडी छुट्टाछुट्टै चार्जिङ गर्न सकिने गरी आवश्यक पूर्वाधार निर्माण दु्रत गतिमा भइरहेको छ । दसैँभित्र चार्जिङ स्टेसन सञ्चालन र त्रिशूलीबाट काठमाडौं १० वटा विद्युतीय माइक्रो सञ्चालनको तयारीमा टिमुरे यातायात प्रालि लागिरहेको छ ।
त्रिभुवन त्रिशूली माविको जग्गासँगै रहेको वडाको मातहतको सार्वजनिक जग्गामा विदुर नगरपालिका–१ सँग सम्झौता गरेर चार्जिङ स्टेसन निर्माण सुरु भएको हो । चार्जिङ स्टेसनको व्यवस्थापन खर्च कटाएर मासिक ३० प्रतिशत रकम वडा कार्यालयलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । निकट भविष्यमै टिमुरे यातायात प्रालिले काठमाडौं –त्रिशूली रूटमा सञ्चालन गर्न लागेको विद्युतीय माइक्रोका लागि विद्युतीय चार्जिङ स्टेसनको निर्माण गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितको पहलमा विद्युत् प्राधिकरणले ट्रान्सफर्मरसहित अन्य प्राविधिक सहयोग गरे पनि चार्जिङ स्टेसनको निर्माण गर्न झन्डै ३० लाख रुपैयाँ लाग्ने बताए । नुवाकोटमै पहिलोपटक आफूले सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय माइक्रो सञ्चालन गर्न लागेकोले विद्युतीय चार्जिङ स्टेसनको निर्माण सुरु गरिएको उनले जानकारी दिए । आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएकाले सरकारको नीतिलाई सहयोग गर्न आफूले विद्युतीय माइक्रोको सञ्चालन गर्न लागेको अध्यक्ष जोशीले बताए । पहिलो चरणमा दसैँबाट गल्छी हुँदै काठमाडौं –त्रिशूलीको रुटमा १० वटा विद्युतीय माइक्रो सञ्चालन गर्ने तयारी गरेकोसमेत बताए । विद्युतीय माइक्रो सञ्चालन गर्दा केही खर्च कम हुने भएकाले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने यातायाताको भन्दा भाडा केही सस्तो हुनेछ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने काठमाडौं–त्रिशूलीको एसी भाडा झन्डै चार सय रुपैयाँ रहेको छ । टिमुरेले सञ्चालन गर्न लागेको विद्युतीय माइक्रोको भाडा तीन सय ५० रुपैयाँ हुने बताइएको छ । विद्युतीय माइक्रोको क्षमता १० जना र फुल एसीसमेत रहनेछ । नेपालले बर्सेनि पेट्रोल आयातमा खर्बौँ रुपैयाँ व्यापारघाटा व्यहोरिरहेको छ । यसलाई न्यूनीकरण गर्न अब देशका सबै स्थानमा विद्युतीय गाडी सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्नुपर्छ । आवश्यक रहेको नेपालको नदीमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत् बढी उत्पादन हुने र नेपालले विद्युतीय गाडी प्रयोगमा ल्याउन सके जलविद्युत्ले बजार पनि प्रशस्तै पाउने हुँदा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने विश्वास यो क्षेत्रका विज्ञले गरेका छन् ।