विदुर, पछिल्लो समय नुवाकोटमा खाद्य किराना उद्योग स्थापना हुने क्रम बढिरहेको छ । बजारमा विगत ६ महिनादेखि जिल्लामा उत्पादित दालमोठ, चिजबल्स र कुरकुरे प्रतिस्पर्धामा रहेको छ ।
जिल्लामा उद्योगका लागि आवश्यक सडक, बिजुली, जमिन र पानी हुँदा–हुँदै पनि उद्योग स्थापना गर्ने आँट कमैले मात्र गर्ने गरेका छन् । एक वर्षअगाडि जालपा भैरवी फुड्स इन्डस्ट्रिज प्रा.लि. दर्ता गरेर कविन्द्रमान प्रधान, राजाराम अधिकारी र दीपकसेन रिजालले खाद्य प्रशोधन उद्योग झन्डै २० करोड लगानीमा सुरुवात गरेका थिए । ६ महिनादेखि भैरवी फुड्सले भारतबाट प्राविधिक मिस्त्री ल्याएर उत्पादन गरेको दालमोठ, चिजबल्स र कुरकुरेले बजारमा उपस्थिति जनाएर प्रतिस्पर्धा गरिरहेको छ । १२ जनालाई प्रत्यक्ष रोजगार दिइरहेको भैरवी फुड्सले निकट भविष्यमा आलु चिप्स, फुरनदाना र कोला उत्पादन गर्ने तयारी गरिरहेको सञ्चालक कविन्द्र प्रधानले जानकारी दिए । विदुर नगरपालिका– ५ को नयाँपुलसँगै कारखाना रहेको यस उद्योगले उत्पादित दालमोठ, चिजबल्स र कुरकुरेलाई जिल्लाका उपभोक्ताले रुचाएको कारण बजारमा अन्य उद्योगका दालमोठ, चिजबल्स र कुरकुरे विस्थापित हुँदै गएको खाद्य किराना व्यवसायी अशोक कलवारले बताए । जिल्लामा उत्पादित उत्पादनलाई सबै थोक तथा खुद्रा व्यवसायीले साथ दिइरहेका छन् । जालपा भैरवीको उत्पादन काठमाडौं र अन्य जिल्लामा समेत माग बढिरहेको बजार प्रतिनिधि बद्रीप्रसाद लामिछानेले बताए ।