
पिपलटार, रुम टु रिड (पढ्नका लागि कोठा) बालिका शिक्षा कार्यक्रमको समन्वयमा ‘आशा जगाऔँ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०८० तदनुसार १० सेप्टेम्बर २०२३ का दिन च्वाडी माध्यमिक विद्यालय विदुर नगरपालिका–५ माझीटारमा सम्पन्न भएको छ । आत्महत्या रोकथामका लागि जनचेतनामूलक कार्यक्रम विदुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा च्वाडी माध्यमिक विद्यालयमा गरिएको थियो ।
कार्यक्रम विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालको सभापत्वि, विदुर–५ का अध्यक्ष लीलानाथ न्यौपानेको प्रमुख आतिथ्यता, जनस्वास्थ्य अधिकृत पूर्णध्वज श्रेष्ठ, सामी परियोजनाका निरु सूचीकार, मनोविमर्शकर्ता यसोदा रिजाल, च्वाडी मावि बाल क्लब संरक्षण शिक्षक गणेशबहादुर कुमाल, लेखापाल रामहरि सडौला र बालिका शिक्षा कार्यक्रमका संरक्षक शिक्षक सुलोचना श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि विनपा–५ अध्यक्ष न्यौपानेले क्षणिक आवेगमा प्रायः आत्महत्या गर्ने भएकाले हामीले मनलाई नियन्त्रणमा लिन सक्नुपर्ने बताए । सो कार्यक्रममा मनोविमर्शकर्ता यसोदा खतिवडाले सहजीकरणसहित आफ्नो धारणा राखेकी थिइन् । स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष आत्महत्याका कारण सात लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ । त्यसमध्ये करिब ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएका देशमा हुने गरेको छ । आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो, यसलाई समयमै प्रमाण–आधारित र प्रायः कम लागतको हस्तक्षेपले जोखिमको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र आत्महत्या गर्ने व्यवहार देखाउने व्यक्तिको अनुगमनसहित रोक्न सकिन्छ ।
त्यसैगरी, ‘शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने मूल नारा बोकेर नेपाललगायत अन्य देशमा कार्य गरिरहेको रुम टु रिड (पढ्नका लागि कोठा) द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमले ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० भदौ २२ तदनुसार ८ सेप्टेम्बर २०२३ का दिन च्वाडी पब्लिक माध्यमिक विद्यालय विनपा–५ माझीटार नुवाकोटमा मनाएको छ । ‘सङ्क्रमणमा रहेको विश्वका लागि साक्षरता प्रवद्र्धन ः दिगो र शान्तिपूर्ण समाज निर्माणको आधार’ भन्ने नाराका साथ रुम टु रिडको साक्षरता कार्यक्रम लागू भएका सबै बालिका शिक्षा कार्यक्रम लागू भएको जिल्लाका १२ वटै विद्यालयमा दिवस सम्पन्न भएको छ । च्वाडी माध्यमिक विद्यालयका इसिडीदेखि कक्षा ५ सम्मका एक सय ७१ जना बालबालिकालाई स्टोरी कार्ड वितरण र कक्षा ६ देखि १२ सम्मकाले विविध पुस्तक अध्ययन १० मिनेटसम्म अध्ययन गरी ‘सबै कुरा छोडौँ पुस्तक पढौँ’ भन्ने क्रियाकलाप गरिएको थियो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस युनेस्कोको आह्वानमा सेप्टेम्बर ८ तारिखका दिन हरेक वर्ष मनाइन्छ । युनेस्कोले बताएअनुसार हाल विश्वमा ७६ करोड ३० लाख (सात सय ६३ मिलियन) मानिसमा आधारभूत पढाइ र गणितको सीप छैन । आज पनि विश्वका २४ करोड ४० लाख (दुई सय ४४ मिलियन) बालबालिका विद्यालय जान पाएका छैनन् । उक्त कार्यक्रममा च्वाडी माविको इसिडीदेखि कक्षा १२ सम्मका पाँच सय १४ छात्र/छात्रा र २३ शिक्षक, शिक्षिकासहित पाँच सय ३७ जनाको सहभागिता रहेको थियो । ‘बालबालिकामा पठन सीपको विकासले पढाइ–लेखाइसँगै क्षमता र दक्षताको विकासमा टेवा पुग्ने’ कुरा विद्यालयका बाल क्लबका शिक्षक गणेशबहादुर कुमालले बताए ।