विदुर, १४ महिनादेखि नुवाकोटको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसपी रमेश पण्डितको सरुवा भएको छ । गत शुक्रबार प्रहरी प्रधान कार्यालयले गरेको निर्णयअनुसार नुवाकोटका प्रहरी प्रमुख एसपी पण्डितको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा लुम्बिनीमा सरुवा भएको छ ।
नुवाकोटको प्रहरी प्रमुखमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखामा कार्यरत एसीप सञ्जयसिंह थापाको सरुवा भएको छ । उनी बिहीबार जिल्ला आउने जानकारी नुवाकोट प्रहरी कार्यालयले दिएको छ । सरुवा भएर जान लागेका एसपी पण्डितको मंगलबार नुवाकोट उद्योग वाणिज्य सङ्घले बिदाइ कार्यक्रम गरेर सम्मान गरेको छ । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको बिदाइ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्की, सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटासहित सङ्घका पदाधिकारी र कार्यसमितिका सदस्य तथा व्यवसायीको सहभागिता रहेको थियो । सङ्घका सचिव मधुसुदन थपलियाले सञ्चालन गरेको उक्त कार्यक्रममा द्वितीय उपाध्यक्ष सविन राजभण्डारीले स्वागत गर्दै सरुवा भएर जान लागेका एसपी पण्डितको नुवाकोट बसाइ १४ महिना सफल र व्यवसायीका लागि सहज भएको बताए । स्वागत ग्रहण लिँदै एसपी पण्डितले नुवाकोटमा काम गर्दा सबैबाट सहयोग र सल्लाह पाएको बताए । प्रहरी प्रमुख पण्डितलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्रलगायत जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घ-संस्थाले मंगलबार र बुधबार बिदाइ तथा सम्मान गरेका थिए ।