५९औँ राष्ट्रिय बालदिवस २०८०

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:५५

माझीटार, च्वाडी पब्लिक माध्यमिक विद्यालय विदुर नगरपालिका–५ माझीटार नुवाकोटको च्वाडी बाल क्लबले विविध कार्यक्रम गरी सभ्य र भव्यसँग ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ रुम टु रिड (पढ्नका लागि कोठा) बालिका शिक्षा कार्यक्रमको सहयोगमा ५९औँ राष्ट्रिय बालदिवस २०८० मनाएको छ ।

च्वाडी बाल क्लबका अध्यक्ष जैनव बानुको अध्यक्षता धएको उक्त कार्यक्रममा च्वाडी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालको प्रमुख आतिथ्यता, च्वाडी माविका प्रधानाध्यापक, विदुर नगरपालिका–५ बाल क्लब अध्यक्ष बबिता मानन्धरको विशेष आतिथ्य, विद्यालयका शिक्षकशिक्षिका, रुम टु रिड (पढ्नका लागि कोठा) बालिका शिक्षा कार्यक्रमका सहजकर्ता, विदुर नगरपालिका–५ बाल क्लबका सदस्य सन्तोष कुमाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बालनृत्य, कराँतेको डेमो, बाल प्रतिभा, लैङ्गिक विभेदमा आधारित नाटक, नृत्य बाल क्लबले तयार गरी प्रदर्शन र मञ्चन गरेका थिए । विद्यालयले राख्ने कार्यक्रम बाल क्लबको सक्रियतामा बाल क्लब आफैँले जिम्मेवारी लिई विद्यालयस्तरमा बालबालिकासँग सम्बन्धित विषयमा चनाखो भई विद्यालयस्तरीय कार्यक्रम राख्नु निकै नै उपलब्धिमूलक रहेको कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष खनालले बताए ।

०२१ सालदेखि तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मदिनको दिनमा मनाउन सुरु गरेको बालदिवस नेपालको राजनीतिक, ऐतिहासिक फेरबदलसँगै बालदिवस मनाउने तौरतरिका र दिन फरक–फरक हुँदै आएको च्वाडी बाल क्लबका संरक्षक शिक्षक गणेशबहादुर कुमालले जानकारी दिए । बालदिवसको अवसरमा विदुरमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ५९औँ राष्ट्रिय बालदिवसको अवसरमा त्रिशूली अस्पतालका डाक्टर ऋषिकेश रेग्मीबाट बालबालिकाको स्वास्थ्य परीक्षण, विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक तथा छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक गणेश पाण्डेले जानकारी दिए ।