विदुर, गत साउनको २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी ल्याएको फलाखु खोलाको बगाएको मुहान मर्मत सम्पन्न भएको दुई दिनमै फेरि सुक्खा पहिरोले मुहान क्षेत्र पुरिएपछि अहिले पानी वितरणमा समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको विशेष पहलमा मुहानमा विद्युत् लाइन पु¥याएर मोटरपम्पबाट पानी तान्ने कार्य सुरु भइरहेको छ ।
विदुर नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको पानीको मुहान मर्मत गर्न अझै दुई हप्ताभन्दा बढी लाग्ने भएको छ । मुहानसँगैको क्षेत्रको डाँडै फुटेर ढुङ्गै–ढुङ्गाले दुई सय मिटर पाइप पुरिएपछि पुरानो मुहानभन्दा तलबाट पम्पले पानी तानेर पाइपलाइनमा ल्याउनका लागि आवश्यक भौतिक निर्माणको काम भइरहेको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिए । मुहानको उक्त पहिरोसहितको ढुङ्गा हटाएर टेवा पर्खाल नलगाए पानीको पाइप बिछ्याएर पानी ल्याउन सक्ने अवस्था नरहेकाले अस्थायी विकल्पको रूपमा मुहानसम्म नेपाल विद्युत् प्राधिकरणको सहयोगमा थ्री फेज विद्युत् लाइन विस्तार गरेर मोटर पम्पबाट पानी तान्न लागेकोसमेत उनले बताए । संस्थाले सिँचाइमा दुईवटा र ढुङ्गेको कृषि ज्ञान केन्द्रको परिसरमा एक गरी तीनवटा डिपबोरिङ गरे पनि पानीको आपूर्ति असहज भएको थियो । विदुरको ६ वडाका लगभग ५० हजार उपभोक्ताले उपभोग गरिरहेको पानीको माग प्रतिसेकेन्ड ८० लिटर रहेको छ भने आपूर्ति २० लिटर प्रतिसेकेन्ड रहेको संस्थाका सचिव राजेन्द्र पाण्डेले जानकारी दिए ।
अस्थायी मर्मतका लागि आवश्यक खर्च व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी पौडेल र जिल्ला समन्वय समितिका प्रमुख ठकुरीले सरोकारवाला निकायमा पहल गरिरहेका छन् । तेस्रो साना सहरी खानेपानी आयोजनाले ०७८ देखि विदुरको खानेपानीको सहज र दिगो व्यवस्थापनका लागि काम गर्न ठेक्का लगाएको थियो । फलाखु मुहान सम्झौताअनुसारको संरचना निर्माण नभएको पाइएकाले मुहानको संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुण्डी जेभीलाई संस्थाले पटक–पटक ताकेता र सम्पर्क गर्दा पनि वास्ता नगरेको कारण खानेपानी मुहानको भौतिक संरचना डिजाइनअनुसार नबनेको कारण बेलाबेलामा समस्या आइरहेको छ । यसअघि गत महिना पनि अविरल वर्षाको कारण आएको बाढीले फलाखु खोलाको मुहानमा क्षति पु¥याएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बजार क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट खानेपानी आलोपालो गरी वितरण गरिरहेको छ ।