+
Search

ताजा अपडेट +

पपुलर +

चिज र नौनी बिक्री गर्नेलाई १० हजार जरिवाना

चिज र नौनी बिक्री गर्नेलाई १० हजार जरिवाना
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, चिजका पारखीहरूले रसुवाको हिमाली क्षेत्रमा उत्पादन हुने याक चिजलाई बिर्सन सक्दैनन् । विगतदेखि नै याक चिज उत्पादन हुँदै आएको रसुवा जिल्ला अहिले दुग्ध विकास संस्थानका कर्मचारीको लापरबाहीले बदनाम भएको छ । उत्पादित चिज समयमै बिक्रीका लागि नपठाएर गोदाममा अव्यवस्थित रूपले भण्डारण गरेको कारण संयुक्त बजार अनुगमन टोलीले संस्थानको बिक्री केन्द्र र गोदाम सिल गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

अनुगमनको क्रममा टोलीले रसुवा जिल्लामा दुग्ध विकास संस्थानले बिक्री गरेको चिज तथा नौनी म्याद सकिएको फेला परेपछि १० हजार जरिवाना गरेको हो । वाणिज्य विभागको समेत जिम्मेवारी बहन गरिरहेको घरेलु विकास कार्यालय रसुवाको समन्वयमा गत भदौ २४ र २५ गते गरेको टोलीले संस्थानले बिक्री गर्ने चिज र नौनीको म्याद सकिएको पाएपछि गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर– ६ धुन्चे बजारमा रहेको संस्थानको चिज बिक्री केन्द्र तथा गोदाममा सिल गरेको थियो । अनुगमन टोलीले सिल लगाई १० हजार जरिवानासहित आगामी दिनमा म्याद सकिएका संस्थानको उत्पादन नबेच्ने सर्तमा लगाएको सिल असोज ८ गते खोलेको हो । घरेलु कार्यालय रसुवाका अनुसार बजार अनुगमनको क्रममा संस्थानले बिक्री गर्ने सामानको बिलबिजक जारी नगरेको, स्पष्ट मूल्यसूची नराखेको र सरसफाइ मापदण्ड पालना नगरेकाले उपभोक्ता संरक्षण ऐन, २०७९ को दफा २९ (क) बमोजिम १० हजार जरिवाना गरिएको हो । म्याद सकिएको चिज तथा नौनीको नमुना सङ्कलन गरी टेस्ट गर्न ल्याबमा पठाइएको थियो ।

Suzuki New Bike & Scooter

नमुना सङ्कलनको रिपोर्ट प्राप्त भएको आधारमा असोज ८ गते अनुगमन टोलीका प्रतिनिधिको रोहवरमा सिलबन्दी खुला गरिएको घरेलु विकास कार्यालयका प्रमुख वृहस्पति तामाङले जानकारी दिए । सिलबन्दी खुला गरी गोदामभित्र रहेका चिज पाँच पिस (सग्लो) र १२ थान चिज आधा काटिएको अवस्थामा जफत गरी नष्ट गरिएको र बिक्री केन्द्रसमेतको सिलबन्दी खोलेर बिक्री–वितरणको अनुमति दिई अबका दिनमा यस्तो चिज बेचबिखन र गोदाम नगर्न सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले बताए । अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, चेम्बर अफ कर्मसका प्रवक्ता प्रमोदकुमार तितुङ, उद्योग वाणिज्य सङ्घ रसुवाका अध्यक्ष सुप्साङ तामाङ, नेपाल पत्रकार महासङ्घ रसुवाको प्रतिनिधिलगायतका सरोकारवालाको उपस्थिति रहेको थियो । जिल्लाको सबै ठाउँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह