तारुका, तारकेश्वरको गौरवका रूपमा निर्माण गरिएको जोरघट्ट–तारुका खानेपानी आयोजनाको आइतबार उद्घाटन सम्पन्न भएको छ । जोरघट्ट मुहानको पानी तारुका आइपुगेसँगै आइतबार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले खानेपानी आयोजनाको उद्घाटन गरेसँगै दुई वडाका ६ सय ५० परिवारलाई खानेपानीको सुविधा पुगेको छ । यो आयोजना सञ्चालनले दशकौँदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति पाएको माघेसङ्क्रान्ति गोरुजुधाई मेला लाग्ने ऐतिहासिक महत्वको गाउँ तारुकाका बासिन्दाको दशकौँदेखिको सहज रूपले पानी खाने सपना अहिले पूरा भएको छ । ‘घर–घरमा धारा, आफ्नै धारामा पानी’ भन्ने नारा कार्यान्वयनमा आएपछि जोरघट्टको पानी तारुका झरेसँगै खानेपानीको सपना तारुकावासीको विपना बनेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले अब तारकेश्वरका कुनै पनि गाउँटोल काकाकुल बस्ती बनेर बस्न नपर्ने उद्घोष गरेका छन् । पानीजस्तो न्यूनतम आवश्यकताको विषयमा आग्रह–पूर्वाग्रह र स्वार्थ हाबी हुन नहुने भन्दै उनले सके सहमतिमा, नभए बलपूर्वक भए पनि खानेपानीका सबै आयोजना सम्पन्न गर्ने सङ्कल्प सो अवसरमा गरे । राजनीतिक खिचातानी र स्थानीय सरकारको लाचारीका कारण यसअघि तारुकामा खानेपानी ल्याउन भएका दर्जनौँ प्रयास विफल भएका थिए ।
आयोजनाको काम लक्ष्यअनुरूप भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अधिकारीले पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरेका छन् । उपभोक्ता समितिले दिएको जानकारीअनुसार घरघरमा पक्की धारा बनाउने काम दोस्रो चरणमा हुनेछ । तारुकावासीले जोरघट्टको पानी भने आइतबारदेखि नै पिउन पाएका छन् । जोरघट्ट खानेपानी आयोजनाबाट तारकेश्वर– २ र ३ का ६ सय ५० घरधुरी लाभान्वित हुनेछन् । आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने उपभोक्ता समितिका अध्यक्ष समरबहादुर आलेले बताए । खानेपानी उद्घाटन कार्यक्रममा पालिकाका जनप्रतिनिधिसहित प्रायः सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।