+
Search

ताजा अपडेट +

पपुलर +

केन्द्रीय कारागार भवन निर्माणको बाँकी काम अलपत्र छैटौँपटक म्याद थप्दा पनि निर्माण कार्य ९० प्रतिशत मात्रै

केन्द्रीय कारागार भवन निर्माणको बाँकी काम अलपत्र छैटौँपटक म्याद थप्दा पनि निर्माण कार्य ९० प्रतिशत मात्रै
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, केन्द्रीय कारागार नुवाकोटमा सार्न सङ्घीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौँपटक म्याद थप गर्दासमेत पूर्वाधार निर्माण ९० प्रतिशत मात्र पूरा भएको छ । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने तोकिएको समयमा पूरा नहुँदा आयोजनाको लगानी अलपत्र अवस्थामा रहेको छ ।

विदुर नगरपालिका-६ खम्पाली क्याम्पमा निर्माण भइरहेको कारागारमा ०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य राखिएको थियो । निर्धारित मिति दुई वर्ष गुज्रिसक्दा पनि कारागार निर्माणले अझै पूर्णता पाउन सकेको छैन । नेपाल सरकारद्वारा बृहत् गुरुयोजनासहित केन्द्रीय कारागार भवनको पहिलो चरणमा घेराबारा लगाउने काम सम्पन्न भएको छ । कारागार निर्माणको दोस्रो चरणको निर्माण कार्य पूरा भएको छैन । हालसम्मको प्रगति ९० प्रतशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका इन्जिनियर अजय भट्टराईले बताए । सम्झौता भएको संरचनाको काम सम्पन्न भए एक हजार तीन सय कैदीबन्दी नुवाकोट स्थानान्तरण हुनेछन् । लामा/रमण जेभीले ०७६ असोज २९ मा निर्माण सम्पन्न गर्ने गरी ०७३ असोज ३० गते ४७ करोड ८१ लाख आठ हजार आठ सय ७४ रुपैयाँ ९९ पैसामा सम्झौता गरेको थियो । छैटौँपटक थप गरिएको म्याद पनि ०८० असोज २ गते सकिएको छ । आर्थिक वर्ष ०७९/८० का लागि आठ करोड ७४ लाख बजेट थियो । सोमध्ये आठ करोड ७३ लाख ९५ हजार पाँच सय ५६ रुपैयाँ खर्च भइसकेको छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्यअन्तर्गत आर्थिक वर्ष ०८०/८१ देखि निर्माण कार्य थालनी गर्ने गरी गत वर्ष ०७९/८० अन्तिममा विभागीय तवरमा कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको छ । आयोजनाले करिब साढे चार अर्ब लागतमा थप पाँच हजार पाँच सय थुनुवा कैदीबन्दी राख्न विभिन्न संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहित दर्ता प्रक्रिया पूरा गरिसकेको छ । निर्माणाधीन कारागारमा सीप भएकाहरूका लागि रोजगार कक्ष, खेलमैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योग केन्द्र र किरियापुत्री कक्षलगायतको सुविधा रहने जिल्ला कारागार नुवाकोटका प्रमुख गंगालाल योगीले जानकारी दिए । आयोजनाद्वारा दर्ता भएका बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपश्चात् आर्थिक प्रस्तावउपर मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट कार्य भइसकेको छ । अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माण कार्यका लागि आ.व. ०८०/८१ का लागि ४० करोड रकम सुनिश्चित गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनील ठाकुरले बताए । पाँच सय ३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्रीय कारागार अझै पाँच हजार सात सय कैदीबन्दीका लागि राख्न भवन बनाउनुपर्ने आयोजना प्रमुख ठाकुरले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह