विदुर, नुवाकोटमा करसम्बन्धी परामर्श सेवा दिने उद्देश्यले ०६९ असोज ६ गते स्थापना भएको विदुर कर परामर्श सेवा शनिबारदेखि १२ वर्षमा प्रवेश गरेको छ । विदुर कर परामर्श सेवाले १२औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विदुर नगरपालिका–४ तल्लो विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नुवाकोट, रसुवा र धादिङमा करसम्बन्धी सेवा दिँदै आएको विदुर करले आइतबार आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गरेको हो । गत बिहीबार एक समारोहबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र विनपा–४ का वडाध्यक्ष नीलमबाबु ढुङ्गेलले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा प्रजुना भट्टराई र आदित्य नगरकोटीलाई छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए । विदुर करका निर्देशक दिनेशकुमार श्रेष्ठले संस्थाको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत १०-१० हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरिएको बताए । विद्यालयले छनोट गरी प्रदान गरिएको छात्रवृत्ति पाउने भट्टराई कक्षा नौ र नगरकोटी कक्षा १० मा अध्ययनरत रहेको प्रध्यानाध्यपक लामिछानेले जानकारी दिए । विदुर करले कर तथा भ्याटसम्बन्धी परामर्श, तालिम, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विभिन्न सामाजिक तथा व्यावसायिक उत्तरदायित्व पहलअन्तर्गत सांस्कृतिक, खेलकुद, शिक्षालगायतका क्षेत्रमा योगदान पु¥याएकोमा मेयर श्रेष्ठले प्रशंसा गरे ।
विदुर कर परामर्श सेवा ०६९ असोज ६ गते नुवाकोट उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष शरण उत्सुक सापकोटा र करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत रामकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेर सुरु भएको परामर्श सेवाले १३ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नुवाकोट र रसुवा जिल्लामा कर सचेतनाबापत आन्तरिक राजस्व विभागद्वारा राष्ट्रिय कर दिवस, २०७२ को अवसरमा विदुर कर परामर्श सेवा सम्मानित भएको थियो । कर परामर्श सेवाले विभिन्न समयमा लेखा तथा भ्याटसम्बन्धी तालिम दिइरहेको परामर्श सेवाको मुख्य कार्यालय विदुर नुवाकोटमा रहेको छ भने सम्पर्क कार्यालय धादिङको गल्छी, रसुवाको धुन्चे र नुवाकोट जिल्लाको १२ वटै पालिकामा रहेको छ । ती सम्पर्क कार्यालयमार्फत व्यवसायीलाई करसम्बन्धी सहजीकरण सेवा दिइरहेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले देवीघाट जालपा मन्दिरमा खानेपानी ट्यांकी वितरण, पृथ्वी माविमा छात्रवृत्ति, देवीघाट वृद्धाश्रम तथा विदुर बालगृहमा अनाथ बालबालिकालाई रासन वितरण, विभिन्न खेलकुद प्रतियोगितामा क्लब तथा संस्थालाई आर्थिक सहयोग दिँदै आएको छ । विदुर कर सेवाले प्यान-भ्याटको दर्ता तथा वार्षिक नवीकरण, उद्योग व्यवसाय दर्ता-नवीकरण, कम्पनी दर्ता/अद्यावधिक/सेयर लगत/एक्जिम कोड दर्ता, व्यावसायिक योजना, वित्तीय विवरण तयारी, आन्तरिक राजस्व विभागबाट सूचीकृत सफ्टवेयर, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्स दर्ता, सवारी ब्लुबुक नवीकरण सेवा दिइरहेको छ ।






प्रतिक्रिया