दाङसिंह, तारकेश्वर गाउँपालिकाले काजसरुवा भएका शिक्षकलाई रमाना दिन र हाजिरी गराउन अटेरी गर्ने विद्यालयका प्रधानाध्यापकसँग स्पष्टीकरण मागेको छ । काजसरुवा कार्यान्वयन भएपछि मात्र गाउँपालिकाले शिक्षकको तलब, चाडपर्व खर्चलगायत सेवा, सुविधाको रकम निकासा गर्ने जानकारी विद्यालय र शिक्षकलाई दिएको छ ।
विद्यालयलाई सात दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न गत बिहीबार पालिकाले निर्देशन दिएको थियो । पालिकाको निर्देशन पालना गर्ने, तर तीन दिनको समय थप गर्न विद्यालयका प्रधानाध्यापकले सोमबार पालिकामा छलफल गरेर अनुरोध गरेपछि आज बिहीबारसम्म म्याद थपिएको छ । असोज १५ गते सोमबार प्रधानाध्यापकको छलफलपछि शिक्षक सरुवा कार्यान्वयन गर्न तारकेश्वर गाउँपालिकाले तीन दिनको समय थप गरेको छ । प्रधानाध्यापकसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले कसैको लहलहैमा नलागी नियामकको निर्देशन पालना गर्दै आफ्नो कर्तव्य पालनामा लाग्न सुझावसहित निर्देशन दिएका छन् । अध्यक्षसँगको छलफलका क्रममा प्रधानाध्यापकले केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको पालिकाले जानकारी दिएको छ । पालिकाको काजसरुवा गर्ने निर्णय उल्टाउन केही शिक्षक उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै गएका थिए । अदालतले पालिकाको निर्णयलाई सदर गर्दै अन्तरिम आदेशको माग खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयलाई सात दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो । शिक्षकको तलब, चाडपर्व खर्चलगायत सेवा, सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा गर्ने पालिकाले जानकारी दिएको छ । जति छिटो शिक्षकको काजसरुवा कार्यान्वयन हुन्छ, त्यति छिटो शिक्षकको तलब, चाडपर्व खर्चलगायत सेवा, सुविधाको रकम निकासा हुने भएको छ । गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियानअन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्षसहित परीक्षणका रूपमा एकतिहाइ शिक्षकको काज सरुवा गरेको थियो । सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक सङ्घ–सङ्गठनको अगुवाइमा उच्च अदालत पाटनमा दायर भएको रिटमा पहिलो सुनुवाइमा दिएको अन्तरिम आदेश उच्च अदालतले दुई हप्ता अगाडि खारेज गरिदिएको थियो ।
अदालतले समेत गाउँपालिकाको निर्णयलाई सदर गरेपछि पनि विद्यालयबाट रमाना नदिने काम भइरहेको भन्दै तत्कालै लिखित रूपमा स्पष्टीकरण माग गरेको हो । गाउँपालिकाले गरेको काजसरुवाको निर्णयविरुद्ध शिक्षक अदालत पुगेका थिए । अदालतले गाउँपालिकाकै निर्णयलाई सदर गरेपछि तारकेश्वर गाउँपालिकाले ८६ जना शिक्षकको काजसरुवाको केही विद्यालयले कार्यान्वयन गर्न अटेरी गरेपछि पालिका कठोर निर्णय गर्न बाध्य भएको छ । अध्यक्ष अधिकारीका अनुसार अटेरी गर्ने शिक्षकलाई पनि स्पष्टीकरण सोधी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । गाउँपालिकाले गरेको शिक्षक काजसरुवाको निर्णय कार्यान्वयन गर्नेमा आफू दृढ रहेको अध्यक्ष अधिकारीले बताएका छन् । विशुद्ध शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई लिएर अनावश्यक र भ्रामक प्रचारबाजी गरिएको भन्दै अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराख्न सम्बद्ध सबैलाई आग्रह गर्दै आएका छन् । शैक्षिक सुधारको कार्यक्रमअन्तर्गत विभिन्न चरणमा विद्यालयको अनुगमन गरी अभिभावकको समेत सल्लाहका आधारमा यो निर्णय गरिएको उनले बताए । झट्ट हेर्दा केही कठोर वा अप्रिय लागे पनि गाउँको शिक्षाको दयनीय अवस्थामा सुधार ल्याउन निर्णय आवश्यक भएको उनले उल्लेख गरे । अध्यक्षले निर्वाचित भएदेखि नै स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारका लागि भन्दै विभिन्न कार्यक्रम ल्याइरहेका छन् ।






प्रतिक्रिया