त्रिशूलीबजार, नुवाकोट जिल्लाभरिका बचत तथा ऋण सहकारीमध्ये बचत तथा ऋण कारोबार गर्ने अब्बल त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि. को २३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
विदुर नगरपालिका–१ ढुङ्गे होटेल याङ्ग्राको सभाहलमा भएको कार्यक्रम ज्येष्ठ सेयर सदस्य कुलबहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा सहकारीका विभिन्न विधामा उत्कृष्ट सेयर सदस्य र विद्यार्थीको साथै ज्येष्ठ सेयर सदस्यलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो । सहकारीले आ.व. ०८०/८१ को भदौ महिनासम्म एक हजार ६ सय ७२ सेयर सदस्य रहेको जानकारी दिएको छ । सहकारीको ४० करोड ३५ लाखको कुल सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सो अवधिमा चार करोड ११ लाख ४६ हजार सेयरपुँजी सङ्कलन गरेको छ । त्यसैगरी, बचत सङ्कलन २९ करोड आठ लाख ६३ हजार गरेको संस्थाले २९ करोड ४७ लाख ४३ हजार कर्जा सदस्यमा लगानी गरेको छ । संस्थाले एक करोड ६२ लाख १५ हजार संस्थागत सेयर लगानी गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ र लेखा संयोजक उपेन्द्र अमात्यले वार्षिक प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
सहकारीले गत आ.व.मा अवलोकन भ्रमणमा १८ लाख आठ हजार र सञ्चालक समिति बैठकमा तीन लाख ९३ हजार तथा तालिम शीर्षकमा तीन लाख ४० हजार खर्च गरेको लेखा संयोजक उपेन्द्र अमात्यले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले सदस्य सेवा केन्द्र बेलकोटगढी नगरपालिका–७ महादेवफाँटबाट पनि सेवा दिइरहेको छ । साधारणसभाले चालू आ.व. ०८०/८१ मा सेयर सदस्य तथा निजका परिवारलाई आत्मनिर्भरताका लागि उनीहरूको सीप, क्षमता र इच्छाअनुसार उत्पादन एवम् आर्जनमूलक कृषि, व्यापार, व्यवसाय तथा लघु उद्योग सञ्चालन गर्न तालिम, शिक्षा तथा सहुलियत र सुलभ ब्याजदरमा ऋण लगानी गर्ने तथा ती सदस्यको व्यवसाय पुनस्र्थापनाका लागि २० लाख रुपैयाँ रकम विनियोजन गरेको प्रबन्धक हरिचन्द्र अमात्यले जानकारी दिए ।






प्रतिक्रिया