+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व प्रधानपञ्चको मूर्ति अनावरण

पूर्व प्रधानपञ्चको मूर्ति अनावरण
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका पूर्वप्रधानपञ्च एवम् ठूलो झाँक्री कारसिङ्गी तितुङको मूर्ति विधिवत् रूपमा असोज १२ गते पूर्णिमाको दिन अनावरण गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

धुन्चेमा अवस्थित पुनु चेन्की ग्याल्बो (देवीथानहरूमध्ये एक शक्तिशाली देवीथानहरू)मा उनको मूर्ति निर्माण गरी तामाङ परम्पराअनुसार मूर्ति अनावरण उनको जेठो छोरा रसुवा नागरिक समाजका अध्यक्ष बाबुुलाल तामाङ र कान्छा छोरा तेम्पा तामाङले गरेका हुन् । परापूर्वकालदेखि रसुवाको सदरमुकाम धुन्चेमा अवस्थित देव-देवीथानको पूजा-आजाको जिम्मेवारी तितुङ परिवारले पाएकाले आफ्नो जिम्मेवारी बहन गर्दै ‘गाउँ–ठाउँमा मानिसलाई रोगव्याध नलागोस्, अनिष्ट नहोस्, सबैको कल्याण होस्, अन्नबाली राम्रो होस्, अकालमा कसैले ज्यान गुमाउनुनपरोस्’ भन्ने हेतुले तामाङ परम्पराअनुसार झाँक्री कारसिङ्गी तितुङले सबै देवस्थानको प्रतिनिधित्व हुने गरी पूर्णिमामा पूजा-आजा गर्दै आएकाले उक्त ठाउँमा उनको मूर्ति निर्माण गरिएको हो । उनको सालिकसँगै गुरु रिम्पोच्छेको मूर्तिसमेत रहेको छ ।

Suzuki New Bike & Scooter

पञ्चायतकालमा प्रधानपञ्चसमेत भई समाजमा महत्वपूर्ण भूमिका खेलेका कारसिङ्गी एक साहसी, कसैसँग बोल्न नडराउने हक्की स्वभावका थिए । उनको त्यही स्वभावका कारण ०४२ मा राजा वीरेन्द्र धुन्चेको भ्रमणमा आउँदा भेटघाटको अवसरमा सरकार बँदेल ठूलो कि मान्छे ठूलो हाम्रो बाली-नाली सबै सखाप परेर हैरान बनायो, अन्नबाली कम फल्छ त्यसमाथि बँदेलले सखाप बनाएपछि हामीले के खाने भनेपछि तीन दिनभित्र दरबारबाट उनकै जिम्मामा बन्दुक धुन्चे आइपुगेको थियो । सबैले मानेका उनी एक झाँक्री मात्रै नभएर सामाजिक व्यक्ति थिए । उनको ०६० सालमा निधन भएको र २० वर्षपछि उनको मूर्ति बनाएर अनावरण गरिएको उनको जेठो छोरा बाबुलाल तामाङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह