+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा जनशक्ति पलायनको समाधानको खोजी

नुवाकोटमा जनशक्ति पलायनको समाधानको खोजी
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नेपाल बुद्धिजीवी परिषद् नुवाकोटले जनशक्ति पलायन र समाधानका उपाय विषयमा विचारगोष्ठी शनिबार सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पूर्वपोलिटब्युरो सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले यस्ता समस्याबारे बुद्धिजीवीले तथ्यगत तथा अनुसन्धानात्मक उपाय सुझाउनुपर्ने धारणा व्यक्त गरे । उनले जनशक्ति पलायनलाई रोक्ने प्रमुख जिम्मेवारी सरकारको नै हुने र यस विषयमा सरकार उदासीन हुनाको परिणामले नै पलायनको क्रम रोकिन नसकेको धारणा व्यक्त गरे । गोष्ठीमा सहभागी वक्ताले दैनिक एक हजार दुई सयभन्दा बढी श्रमशक्ति र पाँच सयभन्दा बढी उच्च शिक्षा अध्ययनको क्रममा दक्ष जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थाले देशमा आउन सक्ने सङ्कटबारे चिन्ता जाहेर गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । परिषद्का अध्यक्ष रामहरि रिमालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सचिव डा. दीपेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । आफ्नो कार्यपत्रले जनशक्ति पलायनको कारण पहिचान गर्नुका साथै यसको दीर्घकालीन समाधानका लागि मार्गचित्रसमेत प्रदान गर्ने धारणा उनले व्यक्त गरे । कार्यपत्रमाथि नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सहप्राध्यापक ठाकुरप्रसाद पुडासैनीले टिप्पणी गर्दै सरकारले देशमा अवसर प्रदान नगरेका कारण नै जनशक्ति पलायन हुनुपरेको तथ्यमाथि जोड दिए । प्रजातान्त्रिक विचार समाज नुवाकोटका अध्यक्ष होमनाथ नेपालले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारी आँकडाले बिदेसिनेको सङ्ख्या कम देखाए तापनि वास्तविक बिदेसिनेको सङ्ख्या त्योभन्दा धेरै बढी रहेको धारणा व्यक्त गरे । कार्यपत्रमाथि आफ्नो धारणा राख्दै नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले जनशक्ति पलायनको समस्यालाई राजनीतिक तहबाट नै समाधान निकाल्नुपर्ने धारणा व्यक्त गरे । उपस्थित विभिन्न वक्ताले सो विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

गैरराजनीतिक समसामयिक विषयमा यति महत्वपूर्ण कार्यक्रम गरेकोमा बुद्धिजीवी परिषद् नुवाकोटलाई धन्यवाद दिँदै नेकपा एमालेकी केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले अवसरको सदुपयोग गर्न सकेमा देशमै प्रशस्त अवसर रहेको र जनशक्ति पलायन हुनु नपर्ने धारणा व्यक्त राखिन् । कार्यक्रममा सहभागीबाट समेत राय तथा सुझाव सङ्कलन गरिएको थियो । सो विचार गोष्ठीबाट समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन नीति तय गर्नुपर्ने र सरकारले हस्तक्षेपकारी नीतिसमेत लिनुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लाका बुद्धिजीवी, राजनीतिकर्मी तथा पेसाकर्मी सहभागी रहेको सो कार्यक्रम जिल्लामा पहिलोपटक भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह