नुवाकोट–काठमाडौं पत्रकार समाजको शुभकामना आदान–प्रदान

  • त्रिशूली प्रवाह
  • २५ आश्विन २०८०, बिहीबार १२:४५

काठमाडौं, नुवाकोट–काठमाडौं पत्रकार समाजको आयोजनामा विजयादशमी, शुभ–दीपावली तथा छठपर्व २०८० को अवसरमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा बालाजु माछापोखरीको आरती पार्टी प्यालेसमा कार्यक्रम भएको थियो । नुवाकोट जन्मघर भई काठमाडौंका विभिन्न सञ्चारगृहमा आबद्ध रहेका पत्रकारको साझा संस्थाको रूपमा रहेको नुवाकोट–काठमाडौं पत्रकार समाजको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, व्यवसायी, विभिन्न बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, साहित्यकारलगायत विविध क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो । संस्थाका संयोजक रमेश जम्कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सबै क्षेत्रका व्यक्तिको उत्साहपूर्ण सहभागिता रहेको थियो । सो अवसरमा सभामुख घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गर्दै सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्नेमा जोड दिए । पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडवाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्ने बताउँदै उनले भने, ‘तिनले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ ।’ सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउन त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिए । साथै, उनले नुवाकोट सुन्दर र राजधानीनजिक भईकन पनि सुविधा नपाएर पिछडिएको जनाउँदै नुवाकोट र रसुवाका गोसाइँकुण्डजस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रचार–प्रसार गरी जिल्लालाई भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले वैभवशाली, आकर्षक एवम् सद्भावपूर्ण बनाउन जिल्लाका पत्रकारलाई आग्रह गरे ।

सो अवसरमा सांसद अर्जुननरसिंह केसीले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक द्वन्द्व हुन नदिन र मुलुकका सबै पर्व नेपालीको पर्व हो भन्ने भावना बढाएर राष्ट्रिय एकता मजबुत पार्नका लागि योगदान दिन पत्रकारलाई आग्रह गरे । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री केसीले नुवाकोटबाट राजधानी आई पत्रकारिता गर्ने पत्रकारको संस्था समाजले स्थापना गर्ने अक्षय कोषका लागि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा पनि गरे कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. प्रद्युम्न महत, राष्ट्रिय परीक्षा बोर्डका सहसचिव जंगबहादुर अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी महासङ्घका अध्यक्ष सीताराम न्यौपाने, राष्ट्रिय समाचार समितिका नायव महाप्रबन्धक श्यामप्रसाद रिमाल, त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु तारुके, सहसंयोजक नवराज घिमिरे र पूर्वअध्यक्ष दिनेश आचार्यले मुलुकका सबै क्षेत्र सङ्कटमा परेकाले पत्रकारले सही सूचना दिएर राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिए । साथै, उक्त कार्यक्रम संस्थाका सदस्य प्रकाश पुडासैनीले सञ्चालन गरेका थिए । त्यस्तै, कार्यक्रम विसर्जन गर्दै सभाका सभापति जम्कट्टेलले भोलिका दिनमा सबैलाई समेटेर उक्त संस्थालाई थप बलियो र मजबुत साथै समाज निर्माणको पहरेदार बनाउनेमा जोड दिए ।