- हेमनाथ खतिवडा
नापी विभागले व्यवस्थापन गर्न नसक्दा पासाङल्हामु राजमार्गको काठमाडौंको बालाजुस्थित रानीवनदेखि नुवाकोट हुँदै रसुवा र धादिङको सिमाना सोमदाङसम्मको सडक स्थानीयको नाममा रहेको छ । एक सय ८५ किलोमिटर लम्बाइ रहेको यो सडक व्यक्तिको नाममा रहेको छ । सडक निर्माण हुँदा व्यक्तिसँग लिएको जग्गाको हालसम्म पनि नक्साङ्कन तथा लगत कट्टा नहुँदा बालाजुदेखि सोमदाङसम्मको सडक दायाँबायाँका जनता मर्कामा परिरहेका छन् ।
सडक निर्माण भएको ४१ वर्ष बित्दा पनि सडक नक्साङ्कन तथा लगत कट्टा नगर्दा घर तथा जग्गा किनबेच गर्दा रसुवा र नुवाकोट जिल्लाको सार्वजनिक सडकको समेत राजस्व रकम तिर्नुपरेको छ । काठमाडौं–त्रिशूली–धुन्चे हुँदै सोमदाङ सडकको तथा अन्य ग्रामीण सडकको पनि लगत कट्टा नहुँदा जनताले तिरो तिर्नु परिरहेको छ । जसका कारण अहिले पनि व्यक्तिगत जग्गासरह सडक किनबेच हुन्छ । सरोकारवालाले बेवास्ता गरेकाले सडकआसपासको जग्गा किनबेच गर्दा अहिले पनि सडक किनबेच हुने गर्दछ । रसुवा र नुवाकोट जिल्लामा तीन दर्जनभन्दा बढी सडक निर्माण भए पनि नक्साङ्कन भएको छैन । सडक कित्ताकाट गरेर लगत तिर्नुपर्ने सडक विभागले सडक नक्साङ्कन तथा लगत कट्टा नगरेकाले जिल्लावासी मर्कामा परेको कालिका गाउँपालिका– ३ का खिलप्रसाद आचार्य बताउँछन् । नेपाली सेनाको काली बक्स गणले खनेको पासाङल्हामु सडक ०३९ सालमा सञ्चालनमा आएको हो । सडक निर्माणअघि आफ्नो नाममा रहेको जग्गामा सडक बनेर गाडी गुडेको वर्षौँ बिते पनि अहिले पनि जग्गा किनबेच गर्दा सडकको पनि तिरो तिरेर किनबेच गर्छन् । स्याफ्रुबेँसी–रसुवागढी, गोल्जुङ–गत्लाङ चिलिमे, कालिकास्थान–जिबजिबे, लोकिल यार्सा, भोर्ले–नौकुण्ड, बेत्रावती–परेबेँसी, मैलुङ–स्याफ्रुबेँसी, बनुवा–कर्मीडाँडा–कालिकास्थानलगायतका ग्रामीण सडकको पनि लगत कट्टा नभएको गुनासो छ । लगत कट्टा हुन्छ, तर नापीले फिल्डमा पुगेर गर्नुपर्ने र सडकलाई कति छाडेर काट्ने भनेर यकिन नगरेकाले समस्या भएको हो । यसअघि १५–१५ मिटर छाड्ने भने पनि तथ्यमा कति काट्ने यकिन नभएकाले अझै समस्या अन्योलमा रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले बताए ।
स्थानीय सरकार तथा सरोकारवालाले नापीसँग समन्वय गरेर ग्रामीण सडकको समेत लगत निकाल्नुपर्ने, तर कुनै पनि स्थानीय तहले सुरु नगरेको प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘पासाङल्हामु राजमार्ग सडकको त लगत कट्टा हुन सकेन, ग्रामीण सडकको त कुरै भएन ।’ यसअघि जिल्ला भूमि अधिकार मञ्च, संवाद समूहलगायतले जिल्लाको ठूलो समस्याको रूपमा रहेको सडकको लागत कट्टा गर्ने विषयमा जिल्ला प्रशासन, जिल्ला समन्वय समितिलगायत सरोकारवाला निकायमा मागपत्रसमेत पेस गरेका थिए । पासाङल्हामु सडक काठमाडौंको बालाजुदेखि सोमदाङसम्म फैलिएको छ । यो सडक बालाजु–रानीपौवा–पैंतीसकिलो–बेलकोट–पिपलटार–गँगटे–ढुङ्गे–बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी–गत्लाङ हुँदै धादिङको सिमाना सोमदाङसम्म जोडिन्छ । स्याफ्रबेँसी–रसुवागढी सडक, बेत्रावती–मैलुङ–रसुवागढी अन्तर्राष्ट्रिय सडकको समेत हालसम्म लगत कट्टा भएको छैन । यसले गर्दा लामो समयदेखि रसुवा र नुवाकोटवासीलाई कारोबारमा समस्या परिरहेको छ । सडकको जग्गाको कित्ताकाट र सीमाङ्कन नछुट्टिँदा राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको पिपलटारदेखि ढुङ्गे र ढुङ्गेदेखि बेत्रावतीसम्मका स्थानीय निर्माण कार्य अवरोध गर्दै अदालत गएका थिए । अदालतले ढुङ्गेदेखि बेत्रावतीसम्मको जग्गाको मुआब्जा दिन आदेश दिएपछि व्यक्तिको जग्गाको कित्ताकाट भएको छ भने पिपलटारदेखि ढुङ्गेसम्मको विवाद यथावत् रहिरहेको छ । विवादको कारण सडक निर्माण अगाडि बढ्न सकेको छैन ।






प्रतिक्रिया