विदुर, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबारबाट हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।






प्रतिक्रिया