बट्टार, नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारबाट जनतालाई महँगी र भ्रष्टचार उपहार दिएको बताएका छन् । जनताको जनजीवन कष्टकर छ, देशको आर्थिक स्थिति सङ्कटग्रस्त छ । तैपनि सरकार चिन्तित नभएकाले यो सरकारबाट देशको अवस्था नसुध्रिने धारणा उनले व्यक्त गरे ।
नेकपा एमालेविरुद्ध गठबन्धन गरेर सत्तामा आएको सरकारले एमालेलाई घेराबन्दी र आक्रमण गरिरहेको र सो घेराबन्दी र आक्रमणलाई पार्टीले चिर्न खोजेर पनि नसकिरहेको उनले स्विकारे । नेकपा एमालेको सरकार भएको भए यतिबेला टोखा–छहरे सुरुङमार्ग निर्माणको चरणमा प्रवेश गरिसकेको र केरुङ–काठमाडौं रेलमार्गले गति लिइसक्नेसमेत उनले भन्न भ्याए । बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वजस्ता नेपाली चाडको पूर्वसन्ध्यामा नेकपा एमाले नुवाकोटद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा बागमती प्रदेश कमिटीका हालै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्न पोखरेल सोमबार नुवाकोट आएका थिए । उनले कार्यक्रमअघि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उक्त धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा एमाले नुवाकोटका उपाध्यक्ष बुद्धिबहादुर प्रधान, पूर्व जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, बागमती प्रदेश कमिटीका पूर्वअध्यक्ष केशवराज पाण्डे, बागमती प्रदेशका वर्तमान सचिव नवराज सिलवाल, उपाध्यक्ष दावा लामा, अध्यक्ष कैलास ढुङ्गेल, केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, पोलिटब्युरो सदस्य ईश्वरी रिजाल र पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज अरुण नेपालले शुभकामना व्यक्त गरेका थिए । कार्यकर्ता भेला पनि भनिएको उक्त कार्यक्रममा कार्यकर्ताको उपस्थिति भने न्यून रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी सो पार्टीका जिल्ला कमिटी सदस्य अर्जुन नेपालीलगायत १० जना कार्यकर्ता नेकपा एमाले बिनासर्त प्रवेश गरेका थिए । कार्यक्रम जिल्ला कमिटीका सचिव सुदर्शन नेपालको सञ्चालन र जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो ।