नुवाकोट (जिलिङ), बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालले आफ्ना दिवंगत स्वर्गीय पिता नेत्रप्रसाद दाहालको स्मृतिमा एक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उपमेयर दाहालको आफ्नै वडासमेत रहेको बेलकोटगढी नगरपालिका–८ जिलिङको कल्याणीदेवी माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँ सहयोग गरेर अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयले गत शुक्रबार आयोजित दसैँ–तिहारको विशेष शुभकामना आदान–प्रदानसहित विशेष सांस्कृतिक कार्यक्रमको अवसरमा प्रमुख अथितिको रूपमा सहभागी हुँदै उपप्रमुख दाहालले ५० हजारको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम स्वर्गीय पिता दाहालको नाममा अक्षयकोष रहने गरी जुनियर रेडक्रस सर्कल कल्याणीदेवी माविको नाममा उक्त चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष सुरेश चित्रकार, बेलकोटगढी नगरपालिकाकी पूर्वकार्यपालिका सदस्य लक्ष्मी गजुरेल पुडासैनी, नेपाली काङ्ग्रेसका स्थानीय नेता दीपेन्द्र ढुङ्गाना र दुर्गाप्रसाद पुडासैनी, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका नवराज सुवेदी, नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता रामप्रसाद पुडासैनीलगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । दाहालले आफूले समेत अध्ययन गरेको यस विद्यालयका लागि गरेको सहयोग शिक्षा क्षेत्रकै विकासका लागि प्रेरणादायी भएको विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनीले प्रशंसा व्यक्त गर्दै अन्य दातालाई पनि सहयोगका लागि आह्वान गरे । अक्षयकोष स्थापनाले विद्यार्थीको शैक्षिक तथा सिर्जनात्मक क्षमता विकासमा सहयोग पुग्नुका साथै विद्यालय र समग्र शिक्षा क्षेत्रप्रति अभिभावक, समाजका विभिन्न सरोकारवालालाई जिम्मेवार बनाउन यस सहयोगी कामले हौसला थपिदिएको विद्यालयका शिक्षक किरण उजागर पुडासैनीले बताए ।
नेपाली काङ्ग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव शिव दाहाल विगत लामो समयदेखि राजनीतिक सक्रियतासँगै सामाजिक सेवामा आफूलाई अग्रसर गराउँदै आएका नेतासमेत हुन् । उपमेयर दाहालले यसअघि आफ्ना पिताको स्मृतिमा विनपा– ५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि उपमेयर दाहालले रेडक्रसजस्तो पवित्र संस्थालाई मानवीय कार्यका लागि अझ धेरै उत्साहित र गतिशील बनाइराख्न सहयोग गरेको बताए । विद्यालय र जुनियर रेडक्रसमा सहभागी विद्यार्थीका साथै कार्यक्रममा सहभागी जनप्रतिनिधिलगायत स्थानीय अभिभावकले दाहालको यस सहयोगप्रति मुक्तकण्ठले प्रशंसा व्यक्त गरेका छन् ।






प्रतिक्रिया