सुर्यगढी फुटबल कपको विजेता आम भञ्ज्याङ युवा क्लब

सुर्यगढी फुटबल कपको विजेता आम भञ्ज्याङ युवा क्लब
त्रिशूली प्रवाह
१ साल अगाडी
  • राजकुमार श्रेष्ठ

वागेश्वरी, सुर्यगढी नव युवा क्लब गाउँपालिका वडा नं.–३ को आयोजनामा सुर्यगढीको खेल मैदानमा “प्रथम सुर्यगढी फुटबल कप २०८०” कार्तिक ६ गते सम्पन्न भएको छ ।

नेपाली मात्रको महान चाड विजया दशमीको सुखद उपलक्ष्यमा ‘‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद र भाईचाराको लागि खेलकुद’’ भन्ने मुल नाराका साथ क्लबले आयोजना गरेको प्रथम सुर्यगढी फुटबल खेलमा सुर्यगढी गाउँपालिकाका सातवटा क्लब सहभागी थिए । कार्तिक ३ देखि लिग चरणको फुटबल खेल्दै कार्तिक ६ गते फाईनलमा आम भञ्ज्याङ र जोसिला युवा क्लबबिच भएको खेलमा पुरा खेल अवधिभर बराबर भएकोले पेनाल्टी सुटआउटमा आम भञ्ज्याङ युवा क्लबले जोसिला युवा क्लबलाई ३–२ को अन्तरले पछि पादै विजयी हासिल गरेकोे थियो । खेलको उद्घाटन सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले र समापन प्रतिनिधीसभाका सदस्य एवं कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुबेदीले गर्नुभएको थियो । विजेता आम भञ्ज्याङ युवा क्लबका खेलाडीलाई ट्रर्फी, मेडल, प्रमाणपत्रका साथै नगद रकम ५० हजार पुरस्कार प्रदान गरिएको थियो, भने उपविजेता जोशिला युवा क्लबका खेलाडीलाई ट्रर्फी, मेडल, प्रमाणपत्रका साथै नगद रकम ३० हजार पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै तृतिय हुने आयोजक क्लब सुर्यगढी नवयुवा क्लबका खेलाडीलाई ट्रर्फी, मेडल, प्रमाणपत्रका साथै नगद रकम २० हजार पुरस्कार प्रदान गरिएको थियो । फाइनल दिन फुटबल खेल अवधिको बिच–बिचमा भब्य नाँचगान, तेक्वान्डो खेलको डेमोस्टेशन गदै कार्यक्रम सम्पन्न भएकोे थियो । साथै, विभिन्न ब्यक्तित्वले आफ्नो ब्यक्तिगत तर्फबाट विजेता क्लबलाई हौसला प्रदान गर्ने हेतुले नगद रकम समेत प्रदान गरेका थिए । खेल अवधिभर सबैभन्दा बढि ८ गोल गर्ने सुर्यगढी नवयुवा क्लबका खेलाडी निशान श्रेष्ठलाई उत्कृष्ट स्कोरर अवार्ड, उत्कृष्ट खेलाडीमा जोशिला युवा क्लबका खेलाडी मन्दिप पौडेल, उत्कृष्ट गोल रक्षक आम भञ्ज्याङ युवा क्लबका खेलाडी सन्देश तामाङलाई ट्रफी वितरण गरिएको थियो ।

खेल सम्पन्न गर्नको लागि देश र विदेशमा रहनुभएका सहयोगी मनकारी ब्यक्तिबाट आर्थिक सहायता प्राप्त भएको जानकारी क्लबका अध्यक्ष राजु तामाङले दिनुभएको छ । कार्यक्रमलाई सफल बनाउनको लागि इलाका प्रहरी कार्यालय चोकदे, गाउँपालिकाको नगर प्रहरी, स्वास्थ्य टिम सुर्यगढी गाउँपालिका, जिल्ला खेलकुद विकास समिति नुवाकोट, एन्फाका रेफ्रीलाई मायाको चिनो वितरण गरियो भने क्लबका पूर्व सञ्चालक समितिकापुर्व अध्यक्ष जितबहादुर तामाङ, सदस्य राजकुमार श्रेष्ठ, जिवनबहादुर तामाङ, मिना तामाङ, सुकबहादुर तामाङ, सुकलाल तामाङलाई क्लबको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । सो अवसरमा सुर्यगढीभरीका विभिन्न खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा खेल खेली विजेता तेक्वान्डो प्रशिक्षक कुमार तामाङ र अन्य विभिन्न खेलाडीलाई प्रंशसा प्रमाणपत्र प्रदान गरिएको थियो । फुटबल प्रतियोगिताको समापन कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, वडा नं.–३ का वडाध्यक्ष पिंगलबहादुर थापा मगर, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राईको उपस्थिती रहेको थियो । २०७३ सालमा स्थापना भएको क्लबले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गदै आएको छ । क्लबले सरसफाई कार्यक्रम, खानेपानी वितरण, खेलकुद मैदान निर्माण, वागेश्वरी मन्दिर निर्माण, ऐतिहासिक सुर्यगढी निर्माणमा सहयोग गर्दै पालिकाभित्रको विकास निर्माणमा भएको भष्ट्रचार जस्ता कुरामा गाउँपालिकामा खवरदारी गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह