सरस्वती आ.वि. भौतिक पुर्वाधारले सम्पन्न

  • त्रिशूली प्रवाह
  • १३ कार्तिक २०८०, सोमबार १६:०१
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ ठाँडेमा रहेको सरस्वती आधारभुत विद्यालय भौतिक पूर्वाधारले सम्पन्न बनेको छ । सुविधायुक्त विद्यालय भवनमा पढ्न पाएपछि विद्यार्थी दंग छन् भने अभिभावकको विद्यालयप्रति चासो बढेको छ ।

विद्यालयका प्रधानाध्यापक लानाम घलेकानुसार विद्यालयमा हाल १० वटा कोठा रहेको पक्की भवन रहेको छ । अन्य दुई भवनमा विज्ञान प्रयोगशाला निर्माण, आईसिटीको माध्यमबाट कक्षा सञ्चालन हुने, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको छ । वागमती प्रदेश सरकार शिक्षा निर्देशनालय हेटौंडा र गोसाइँकुण्ड गाउँपालिकाबाट प्राप्त सहयोगले आईसिटी र विज्ञान प्रयोगशाला निर्माण र बाल विकास कक्षाको सञ्चालन तथा ब्यवस्थापन गरिएको छ । अन्तराष्ट्रिय गैर सरकारी छाया संस्थाले १० कोठा भवन निर्माण गरिदिएपछि विद्यालयलाई आवश्यकताअनुसारको सुविधायुक्त कक्षाकोठा पुगेको छ । ९ जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा कार्यालय सहयोगी एकसहित बाल विकास र स्थायी शिक्षक रहेका छन् । विद्यालय समय भन्दा बिहान, बेलुका १/१ घण्टा थप कक्षा समेत सञ्चालन गरिएपछि विद्यार्थीलाई पठन–पाठनमा सुविधा भएको छ ।

आईसिटी विज्ञान प्रयोगशाला, कम्प्युटर, ल्याब समेत रहेपनि विद्यार्थीलाई कुनै शुल्क नलिएको शिक्षा प्रदान गरिन्छ । सदरमुकामबाट पनि नजिक र राजधानी काठमाडौंबाट आउँदा बाटो छेउमा नै रहे तापनि ओझेलमा रहेको यस विद्यालयमा प्रायः मानिसको हम्मेसी आँखा नगए पनि शिक्षामा परिवर्तन आएको प्रअ लानाम घलेले बताए । विद्यालयमा बाल विकासदेखि ८ कक्षासम्म छात्राको संख्या ६३ र छात्रको संख्या ४२ गरी जम्मा १ सय ५ रहेका छन् । दूर-दराजमा रहेको बालबालिकालाई बोर्डिङ स्कुल सरह नै कक्षा एकदेखि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिएको छ ।