विदुर, म्हेन्दोमाया गीत–सङ्गीतमा दुई दशक एकछत्र राज गरेका मदनकुमार वाइबा (सागर एस वाइबा) को पाइला नेपाली साङ्गीतिक आकाशतिर लम्किँदै छ ।
नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–३ बल्खुका मदनकुमारको साङ्गीतिक नाम सागर एस वाइबा रहेको छ । उनी आफ्नै शब्द, रचना तथा स्वरमा तिहार गीत लिएर श्रोतासामु आइपुगेका छन् । गायक वाइबालाई लोकप्रिय लोकदोहोरी गायिका देवी घर्तीमगरले साथ दिएकी छिन् । नेपालीको दोस्रो ठूलो महान् पर्व तिहारमा दाजुबहिनीसँगै चाड मनाउन नपाउँदाको पीडालाई उनले तिहार गीतमा उजागार गरेका छन् । गीतिसङ्ग्रहमा सङ्गीत संयोजन कमल सौराग, रेकडिस्ट गोपाल दयाल तथा मिक्सिङ डिका गुरुङको रहेको छ । सागर एस वाइबा म्हेन्दोमाया गीत–सङ्गीतमा परिचित नाम हो । म्हेन्दोमाया गीत गाएरै खाडी मुलुक कतार, दुबई, मलेसिया, कुवेत, कोरिया, बेल्जियम, पोर्चुगल, फ्रान्स, जर्मन, होल्यान्ड, युके, लन्डनदेखि अमेरिकासम्मको साङ्गीतिक यात्रा गरिसकेका उनले यसै हप्ता युटुबमार्फत सार्वजनिक गरेका छन् । गाउँ, सहर, बजार, देशदेखि विदेशसम्मको स्टेज प्रोग्रामका लागि नम्बर एक रोजाइमा पर्ने सागर एस वाइबा सुमधुर स्वरको धनी जादुमय कला र गला ननस्टप घण्टौँसम्म दर्शक, श्रोता उफार्न माहिर छन् ।