कोल्फुटार (नुवाकोट), प्रथम बेलकोटगढी नगर व्यापार, पर्यटन, कृषि एवम् सांस्कृतिक महोत्सव २०८० हिजो बुधबारबाट सुरु भएको छ । महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।
बेलकोटगढी नगरपालिका–५ आयोजक रहेको महोत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका सदाबहार राष्ट्रिय नेता, नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले हिजो एक समारोहका बीच उद्घाटन गरेका थिए । उनले यो महोत्सवले बेलकोटगढी नगरपालिकाको आर्थिक, सामाजिक पक्षलाई उजागर गर्ने बताए । महोत्सव बेलकोटगढी नगरपालिका– ५ को केउरेनीको त्रिशूली बगरमा भइरहेको छ । महोत्सव आयोजक समितिका संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष मदन भुजेलले दिएको जानकारीअनुसार एक सयभन्दा बढी व्यावसायिक स्टल, बाल उद्यान, पिङ र अन्य मनोरञ्जनका सामग्री रहेको छ । ‘हाम्रो अभियान स्वच्छ हराभरा नुवाकोटको सान, बेलकोटगढी नगरपालिकाको पहिचान’ भन्ने नारासहित प्रथम बेलकोटगढी महोत्सवको शुभारम्भ भएको छ । महोत्सवमा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको संरक्षक बेलकोटगढी नगरपालिका रहेको छ भने सहआयोजकमा बेलकोगढी नगरपालिका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा रहेका छन् । महोत्सवका विशेष सहयोगी जिल्ला समन्वय समिति नुवाकोट र सहयोगीमा विदुर नगरपालिका, पञ्चकन्या, शिवपुरी, लिखु, दुप्चेश्वर, तादी, सूर्यगढी, किस्पाङ, म्यागङ, तारकेश्वर र ककनी गाउँपालिका रहेका छन् । महोत्सवको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसको निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङलगायत विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र स्थानीय निकायका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।