+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा चार्जिङ स्टेसन निर्माण

त्रिशूलीमा चार्जिङ स्टेसन निर्माण
त्रिशूली प्रवाह
२ साल अगाडी

त्रिशूलीबजार, नुवाकोटको विदुर नगरपालिका–१ को त्रिशूली बसपार्कमा टिमुरे यातायात प्रा.लि.को लगानीमा दुईवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण सम्पन्न भएको छ । सानो र ठूलो विद्युतीय गाडी छुट्टाछुट्टै चार्जिङ गर्न सकिने गरी आवश्यक पूर्वाधार निर्माण गरिएको टिमुरे यातायात प्रा.लि.का अध्यक्ष प्रकाश जोशीले बताए । चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै त्रिशूलीबाट काठमाडौं तिहारपछि १० वटा विद्युतीय माइक्रो सञ्चालनको तयारीमा रहेकोसमेत उनले बताए ।

त्रिभुवन त्रिशूली मा.वि.को जग्गासँगै रहेको वडाको मातहतको सार्वजनिक जग्गामा विदुर नगरपालिका–१ सँग सम्झौता गरेर चार्जिङ स्टेसन निर्माण गरिएको हो । चार्जिङ स्टेसनको व्यवस्थापन खर्च कटाएर मासिक ३० प्रतिशत रकम वडा कार्यालयलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । विदुर नगरपालिका– १ का वडाध्यक्ष लेनिन रञ्जितको पहलमा विद्युत् प्राधिकरणले ट्रान्सफर्मरसहित अन्य प्राविधिक सहयोग गरे पनि चार्जिङ स्टेसनको निर्माण गर्न झन्डै ३० लाख रुपैयाँ खर्च भएको अध्यक्ष जोशीले बताए । नुवाकोटमै पहिलोपटक आफूले सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय माइक्रो सञ्चालन गर्न लागेकाले विद्युतीय चार्जिङ स्टेसनको निर्माण गरिएको उनले जानकारी दिए ।
आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएकाले सरकारको नीतिलाई सहयोग गर्न आफूले विद्युतीय माइक्रोको सञ्चालन गर्न लागेको अध्यक्ष जोशीले बताए ।

विद्युतीय माइक्रो सञ्चालन गर्दा केही खर्च कम हुने भएकाले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने यातायातको भन्दा भाडा केही सस्तो हुनेछ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने काठमाडौं–त्रिशूलीको एसी भाडा झन्डै चार सय रुपैयाँ रहेको छ । टिमुरेले सञ्चालन गर्न लागेको विद्युतीय माइक्रोको भाडा तीन सय ५० रुपैयाँ हुने बताइएको छ । विद्युतीय माइक्रोको क्षमता १० जना र फुल एसीसमेत रहनेछ । नेपालले बर्सेनि पेट्रोल आयातमा खर्बौं रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । यसलाई न्यूनीकरण गर्न अब देशका सबै स्थानमा विद्युतीय गाडी सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्नुपर्छ । आवश्यक रहेको नेपालको नदीमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत् बढी उत्पादन हुने र नेपालले विद्युतीय गाडी प्रयोगमा ल्याउन सके जलविद्युत्ले बजार पनि प्रशस्तै पाउने हुँदा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने विश्वास यो क्षेत्रका विज्ञले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह