विदुर, नुवाकोट जिल्लाबाट सुरु गरी क्रमशः नेपालभरि सामाजिक सेवा विस्तार गर्ने उद्देश्यले ०६५ मा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्ट स्थापना भएको थियो । उक्त ट्रस्टले स्थापनादेखि हालसम्मको १५ वर्षको दौरानमा गरेको सामाजिक सेवा गतिविधिको सङ्गालो शुक्रबार विदुरमा विशेष कार्यक्रमबीच विमोचन भएको छ ।
नेपाली काङ्ग्रेसका सदाबहार नेता एवम् पूर्वमन्त्री, संविधानसभा सदस्य तथा हाल नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहेका अर्जुननरसिंह केसी संस्थापक संरक्षक रहेका ट्रस्टले दसैँ, तिहार तथा नेपाल संवत् र छठपर्वको अवसरमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गरेर गतिविधि सार्वजनिक गरेको थियो । सांसद अर्जुननरसिंह केसी र उनका माइला भाइ ट्रस्टका संरक्षक नारायणनरसिंह केसीले गतिविधिको सङ्गालो संयुक्त रूपमा विमोचन गरेका हुन् । सो अवसरमा सांसद केसीले राजनीतिक आग्रह, दलगत दायरा तथा प्रतिस्पर्धाभन्दा माथि उठेर निःसर्त, निःस्वार्थ रूपले समाजका विपन्न र सरकारी सेवा–सुविधाबाट वञ्चित वर्ग र समुदायमा निरन्तर सेवा पु¥याउने प्रतिबद्धता गरे । ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले स्थापनाकालदेखि निःशुल्क औषधिसहित सञ्चालन गरिएको स्वास्थ्य शिविर, ०७२ को भूकम्पमा राहत वितरण र निजी घर तथा सामाजिक सङ्घ–संस्था एवम् शिक्षण संस्थामा ट्रस्टको पहलमा भएका कार्यको विवरण सार्वजनिक गरे । ट्रस्टको तर्फबाट नुवाकोट जिल्लाका विकट गाउँका विद्यालय तथा सामाजिक सङ्घ–संस्थालाई कम्प्युटर, फोटोकपी स्क्यानर तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएर वितरणसमेत उक्त अवसरमा सार्वजनिक गरिएको थियो ।
ट्रस्टले स्थापनादेखि हालसम्म रसुवा र नुवाकोट जिल्लाका जेहेनदार विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण, कोरोना महामारीमा पु¥याएको सेवाको विवरण नुवाकोट, रसुवा, धादिङ, सप्तरी, लमजुङ, बझाङलगायत जिल्लामा मेडिकल उपकरण, स्वास्थ्य सामग्री र औषधि वितरणको तथ्याङ्कसमेत सार्वजनिक गरिएको थियो । ट्रस्टले भारतीय राजदूतावाससँग समन्वय गरेर नुवाकोट जिल्लाको कुमरी, ककनी, जिलिङ, साल्मे, लिखु, तारकेश्वर, किम्ताङका स्वास्थ्यचौकी, क्लब र रेडक्रसलाई एम्बुलेन्स प्रदान गरेको जानकारीसहित ट्रस्ट र समुन्द्रटारमा रहेको चन्द्रमती बहुउद्देश्यीय सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गरिरहेको ट्रस्टका महासचिव जगदीश्वरनरसिंह केसीले बताए । चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा ट्रस्टलाई सहयोग गर्ने देश–विदेशका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीप्रति ट्रस्टको तर्फबाट धन्यवादसहित सहयोगको अपेक्षा गरिएको छ ।