संगम सहकारीको अध्यक्षमा मिश्र

‘संगम चित्रकला प्रतियोगिता २०८०’ सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ कार्तिक २०८०, बिहीबार १२:१५

बट्टार, संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा केशव मिश्र सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक कुमार डङ्गोलले दिएको जानकारीअनुसार ०५३ सालमा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष भएका मिश्र २७ वर्षपछि पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । यसअघि मिश्र उपाध्यक्ष रहेका थिए । साधारणसभाबाट सहकारीको उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सचिवमा सुजित श्रेष्ठ, सहसचिवमा विष्णु श्रेष्ठ र कोषाध्यक्षमा सनि चित्रकार चयन भएका छन् । सदस्यमा किरण भट्ट, उपेन्द्रराज पाठक, नरेन्द्र जोशी, कल्पना डङ्गोल र पवनराज खड्का रहेका छन् । अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा जोनी जेके र सदस्यमा राजेशकुमार श्रेष्ठ, समसुद्दिन मियाँ चयन भएका छन् ।

साधारणसभा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा संगम सहकारी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सभापति एवम् नुवाकोट जिल्लाबाट प्रकाशित उत्तरगया दैनिकका सम्पादक शिव देवकोटा नगद पुरस्कारसहित सम्मानित भएका छन् । सो कार्यक्रममा उत्कृष्ट कारोबार सम्मानबाट बचततर्फ रामनाथ थापामगर विनपा– ४ बट्टार ऋणतर्फ सन्तकुमारी श्रेष्ठ विनपा–४ विदुर र बाबुनानी बचततर्फ महसुस रिमाल विनपा–१२ चारघरे सम्मानित भएका छन् । संगम सहकारीले साधारणसभाको अवसरमा गरेको जिल्लास्तरीय अन्तरमावि ‘संगम चित्रकला प्रतियोगिता २०८०’का विजेतालाई सो कार्यक्रममा नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा भैरवी मावि विनपा–२ नुवाकोटकी अमृता विश्वकर्मा प्रथम, पृथ्वी मावि विदुरकी सहारा अर्याल द्वितीय, पृथ्वी मावि विदुरकै सोहिल तामाङ तृतीय, जेडी बोर्डिङ स्कुल बट्टारकी सोफिया तामाङ र त्रिभुवन त्रिशूली मावि त्रिशूलीबजारका साजन तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । सहकारीले हरेक वर्ष वितरण गर्दै आएको गरिब तथा जेहेनदार छात्रवृत्ति पुरस्कार यस वर्ष नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा अध्ययनरत विद्यार्थी सरस्वती देवकोटा र सुवास अर्याल, त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा अध्ययनरत अशोक अधिकारी र रुबिना रिजाललाई प्रदान गरिएको कार्यक्रमका सभापति नारायण श्रेष्ठले जानकारी दिए ।