सानिमा बैंकको उच्च शिक्षा अध्ययन छात्रवृत्ति वितरण

  • त्रिशूली प्रवाह
  • ७ मंसिर २०८०, बिहीबार ११:३७

विदुर, सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहनअन्तर्गत नुवाकोटका आठजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि जनही एक लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ । सानिमा बैंकको नुवाकोटमा रहेको विदुर, बेलकोटगढी, किस्पाङ र शिवपुरी शाखाको तर्फबाट प्रत्येक शाखाले दुई–दुईजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको हो ।

नुवाकोटको विदुर शाखाले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अध्ययनरत शाहिद दाहाल र भैरुम माविका शीतल रिजाललाई एक–एक लाख रुपैयाँ राशिको छात्रवृत्ति उपलब्ध गराइएको सानिमा बैंक विदुर शाखाका प्रबन्धक प्रसन्न सेढाईंले जानकारी दिए । उनका अनुसार छात्रवृत्ति छनोटका लागि गठन गरिएको समितिले सूचना जारी गरेर प्राप्त निवेदनमाथि विभिन्न माध्यमबाट गरिएको मूल्याङ्कनको आधारमा समितिले गरेको सिफारिसअनुसार छात्रवृत्तिका लागि दुई विद्यार्थी छनोट गरिएको थियो । सानिमा बैंकको बेलकोटगढी शाखाले कल्याणीदेवी माविका मैना खतिवडा र बेलकोटभञ्ज्याङ माविका विपना तामाङलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी, किस्पाङ शाखाले ऐंसेलुभूमे माविका गंगा न्यौपाने र ज्ञानज्योति माविका सुनिता विश्वकर्मालाई छात्रवृत्ति प्रदान गरेको जानकारी बैंकले दिएकोे छ । छात्रवृत्तिमा छानिएका विद्यार्थीले उच्च शिक्षाअन्तर्गत कक्षा ११ र १२ अध्ययनको लागि बैंकले नगद प्रदान गर्नेछ ।

चालू आर्थिक वर्षका लागि सानिमा बैंकको चारवटै शाखाले प्रकाशित गरेको सूचनाको आधारमा छात्रवृत्ति दाबी गर्दै प्राप्त निवेदनको आधारमा शैक्षिक छात्रवृत्ति छनोट समितिले तोकिएको मापदण्डको आधारमा प्रत्येक शाखाले दुई–दुईजना विद्यार्थी छनोट भएको जनाएको छ । शैक्षिक छात्रवृत्ति प्राप्त गर्न माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० मा विद्यार्थीले प्राप्त गरेको अङ्क, उच्च शिक्षा अध्ययनका लागि छनोट गरेको विषय, घरको आर्थिक तथा सामाजिक हैसियतलगायतका मापदण्ड बनाइएको सानिमा बैंक विदुर शाखाका प्रबन्धक सेढाईंले जानकारी दिए । उनका अनुसार छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले शैक्षिक संस्थामा लाग्ने शुल्कबापत अधिकतम ५२ हजार रुपैयाँसम्म र पाठ्यपुस्तक, कापी, कलमलगायतको स्टेसनरी सामग्री खरिदका लागि मासिक दुई हजार रुपैयाँको दरले दुई वर्षमा ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शाखा रहेको पालिकाभित्रको सामुदायिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेर यहीँ रहेको शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न सहयोग पु¥याउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । छात्रवृत्ति उपलब्ध गराएसँगै आर्थिक अवस्था कमजोर भएका एवम् जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक अभावको समस्या समाधान गरेर उनीहरूको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । छात्रवृत्ति रकमले उच्च शिक्षा अध्यननका लागि सहयोग पुगेसँगै अध्ययनप्रतिको मनोबल वृद्धि भएको छनोट भएका विद्यार्थीको प्रतिक्रिया छ ।

नुवाकोटमा सानिमा बैंकको शाखा कार्यालय विदुरसहित बेलकोटगढी नगरपालिकाको बाखघोर, किस्पाङ गाउँपालिकाको दावाचेत बजार र शिवपुरी गाउँपालिकाको शेराबगरबाट सेवा दिँदै आइरहेको छ । जिल्लामा रहेका सबै शाखा कार्यालयले आर्थिक अवस्था कमजोर भएका एवम् जेहेनदार विद्यार्थीलाई कक्षा ११ र १२ सम्मको अध्ययनका लागि लाग्ने रकम छात्रवृत्तिको रूपमा हरेक वर्ष दुई–दुईजना गरेर एक वर्षमा जिल्लाका आठजना विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ । स्थापनाको छोटो समयमै नुवाकोटमा धेरैको रोजाइमा परेको सानिमा बैंकले जिल्लाको दुर्गम मानिएको किस्पाङ र शिवपुरीमा शाखा विस्तारले ग्रामीण क्षेत्रमा आर्थिक कारोबारमा उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको छ । बैंकमार्फत प्रवाह हुने सेवाले जिल्लाको गाउँगाउँमा आर्थिक कारोबारलाई सहज बनाउँदै बैंकिङ कारोबारमार्फत अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पु¥याउँदै आइरहेको छ । यस्तै, नेपाल राष्ट्र बैंकको नीतिअनुुसार सरल ब्याजदरमा कृषि कर्जालाई प्राथमिकता दिँदै आएको सानिमा बैंकले किसानलाई कृषि र पशुपालनतर्फ समेत आकर्षित गराउन सहयोग पु¥याउँदै आएको छ । बैंकले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्तिसहित विद्यालयमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरेर बैंकिङ प्रणालीको महत्वको प्रचार विद्यार्थीमा समेत पु¥याउँदै आइरहेको छ ।